भोटेकोशी पावर कम्पनीद्वारा जेनजीसँग निःशुल्क सेयर सहमति नभएको स्पष्टीकरण

बुधबार, २९ असोज २०८२, ११ : २९

काठमाडौं- भोटेकोशी पावर कम्पनी प्रालिले कम्पनी र भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडबीच निःशुल्क सेयर दिने सहमति भएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। 

कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो समाचारहरू असत्य र भ्रामक भएको स्पष्ट पारेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘भोटेकोशी पावर कम्पनी प्रालि र भोटेकोशीका स्थानीय वासिन्दाको प्रतिनिधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडबीच कुनै पनि प्रकारको निःशुल्क सेयर लिने–दिने सहमति भएको भन्नेबारे विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारमाथि ध्यानाकर्षण भएको छ ।’

कम्पनीका अनुसार २०८२ असोज २६ गते दुवै कम्पनीबीच भएको सहमति अनुसार, भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले भोटेकोशी पावर कम्पनीको १० प्रतिशत सेयर खरिद गर्न आवेदन दिन पाउनेछ। उक्त सेयर खरिद गर्नका लागि आवश्यक रकम बैंकबाट ऋणस्वरूप लिने व्यवस्था गरिएको र सो ऋणको लागि भोटेकोशी पावर कम्पनीले जमानीको व्यवस्था मात्र मिलाउने सहमति भएको उल्लेख छ।

विज्ञप्तिमा थप भनिएको छ, ‘निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको आयोजना भएकाले भोटेकोशी पावर कम्पनीले वार्षिक रूपमा वितरण गर्ने लाभांशबाट १० प्रतिशत सेयर वापत पब्लिक लिमिटेड कम्पनीले पाउने रकम सो ऋण र ब्याज तिर्नका लागि प्रयोग गरिने सहमति भएको हो।’

सो सहमति निःशुल्क सेयर वितरणका लागि नभई, वाणिज्यिक आधारमा सेयर खरिद–बिक्री सम्बन्धी रहेको कम्पनीले स्पष्ट पारेको छ।

Capture

 
 
 
बुधबार, २९ असोज २०८२, ११ : २९

प्रतिक्रिया