काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल २०२५ अक्टोबर १४ मा अमेरिकाको वासिङ्टन डी.सी.मा आयोजित सार्कफाइनान्स गभर्नस् ग्रुप मिटिङमा सहभागी भएका छन् ।
उक्त बैठक विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF)को वार्षिक बैठकका अवसरमा आयोजना गरिएको हो। बैठकको अध्यक्षता बङ्गलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुरले गरेका थिए ।
कार्यक्रममा दक्षिण एसियाली मुलुकका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी तथा अन्य उच्च प्रतिनिधिहरूको सहभागिता थियो।
बैठकलाई सम्बोधन गर्दै गभर्नर पौडेलले नेपालको हालको आर्थिक अवस्थाबारे प्रकाश पार्दै मुद्रास्फीति र बाह्य क्षेत्रका सूचकहरू सहज अवस्थामा रहेको जानकारी दिए। उनले हालैको राजनीतिक परिदृश्यका कारण वित्तीय सन्तुलन र दिगो आर्थिक वृद्धिका प्रयासमा केही चुनौती थपिएको उल्लेख गर्दै ती चुनौतीहरूलाई सम्बोधन गर्नका लागि नीतिगत सहजीकरणका प्रयासहरू सुरु गरिएको बताए।

बैठकमा क्षेत्रीय सहकार्य, वित्तीय समावेशीकरण, ‘करेन्सी स्वाप’ को सम्भावना, साझा अनुसन्धान तथा तथ्याङ्क प्रणाली, सार्क छात्रवृत्ति, र आगामी कार्यदिशा लगायतका विषयमा विस्तृत छलफल भएको थियो।
सहभागी गभर्नरहरूले सार्क राष्ट्रहरूबीच आर्थिक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा समन्वय र सहकार्यलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नर पौडेलसँगै आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेल र गभर्नरको कार्यालयका निर्देशक शरणकुमार अधिकारीको पनि सहभागिता थियो।
SAARCFINANCE, सन् १९९८ मा स्थापना गरिएको हो, जसले दक्षिण एसियाली राष्ट्रबीच समष्टिगत आर्थिक नीतिमा छलफल र पारस्परिक सहयोग प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। सन् २००२ मा काठमाडौंमा सम्पन्न ११औं सार्क शिखर सम्मेलनले यस सञ्जाललाई औपचारिक मान्यता दिएको थियो।
प्रतिक्रिया