‘राजा चाहिँदैन’ भन्दै अमेरिकाभरि ट्रम्पविरोधी र्‍याली, लाखौँ मानिस सहभागी

आइतबार, ०२ कार्तिक २०८२, १४ : ०८

अमेरिकामा लाखौँ मानिसले राष्ट्रपति डोनल्ड ट्रम्पका नीतिहरूविरुद्ध आयोजना गरिएका ‘नो किङ्ग्स’ भनिएका प्रदर्शनहरूमा सहभागी भएका छन्।

ठूला र साना खालका त्यस्ता प्रदर्शनहरू ट्रम्पको मार आ लागो निवास नजिकैसहित सबै ५० वटा राज्यमा आयोजना भएका थिए।

अमेरिकाभरि ठूलो सङ्ख्यामा विभिन्न शहरहरूमा जम्मा भएका प्रदर्शनकारीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पका नीतिहरूको विरोध गरेका छन्।

न्यूयोर्क, वाशिङ्गटन डीसी, सिकागो, मायामी र लस एन्जलससहितका शहरहरूमा जम्मा भएका प्रदर्शनकारीहरूले ‘नो किङ्स’ प्रदर्शन कागजातविहीन आप्रवासीमाथिको दमन, न्याश्नल गार्डका फौजहरूको परिचालन र सङ्घीय रोजगारीको कटौतीजस्ता ट्रम्प प्रशासनका नीतिविरुद्ध भएको उल्लेख गरेका छन्।

यसै वर्षको ज्यानुअरीमा ट्रम्पले सत्ता सम्हालेयता भएको यो तेस्रो यस्तो किसिमको सामूहिक प्रदर्शन हो।

रिपब्लिकन दलका नेताहरूले आन्दोलनकारीहरूलाई ‘कम्युनिष्ट’ र ‘मार्क्सवादी’ को आरोप लगाएका छन्।

न्यूयोर्कको चर्चित टाइम्स स्क्वायरमा शनिवार बिहान प्रदर्शन सुरु भएको प्रदर्शनमा केही समयमा नै हजारौँ मानिस सहभागी भएका थिए।

त्यहाँका चोक र सब वे प्रवेशद्वारमा ‘राजतन्त्र होइन, लोकतन्त्र’ र ‘संविधान विकल्प होइन’ जस्ता सन्देश लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूको जमघट थियो।

प्रदर्शनअघि ट्रम्पका साझेदारहरूले आन्दोलनकारीहरूको सम्बन्ध अतिवामपन्थी एनटिफा अभियानसँग भएको बताएका थिए। उनीहरूले ‘अमेरिकामाथि घृणा व्यक्त गर्न आयोजित र्‍याली’ को निन्दा पनि गरेका थिए।

नो किङ्ग्स कार्यक्रमहरूको अहिंसा प्रमुख सिद्धान्त भएको उक्त समूहले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। साथै उसले सम्भावित झगडाहरू तत्कालै शान्त पार्न पनि सबै सहभागीहरूलाई अनुरोध गरेको थियो।

बीबीसी न्यूज नेपाली 

आइतबार, ०२ कार्तिक २०८२, १४ : ०८

प्रतिक्रिया