काठमाडौं– नेकपा(माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा रहेकी छोरी गंगा दाहालले राजीनामा दिएपछि यसबारे चौतर्फी चर्चा, परिचर्चा र टिप्पणी सुरु भएको छ । कतिपयले चौतर्फी आलोचना भएपछि राजीनामा दिएको बताएका छन् भने केहीले राजीनामा दिएर पनि केही फरक नपर्ने बताउँदै प्रचण्डको सचिवालयमा उनकै हालीमुहाली हुने दाबी गरिरहेका छन् ।
उनले बुबा प्रचण्ड विरुद्ध आफूलाई जोडेर सदैब प्रहार गरिएको भन्दै स्वकिय सचिवमा अबदेखि नरहेको जानकारी गराएकी हुन् । तर, आफ्नै बुबाको सचिवालयबाट गंगा बाहिरिनुको कारण भने अकैं छ । उनले सोमबार एकाएक प्रचण्डको सचिवालयबाट बाहिरिनुको अन्तर्य भने सम्पत्ति शुद्धीकरणको अनुसन्धानबाट जोगिने प्रपञ्च रहेको जानकार स्रोतको दाबी छ ।
माओवादी निकट उक्त स्रोतका अनुसार सुशीला कार्की नेतृत्वको सरकारले तीन पार्टीका शीर्ष नेता र तिनका परिवारका सदस्यहरुलाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेपछि गंगाले राजीनामा दिएकी हुन् । उनीमाथि प्रचण्ड प्रधानमन्त्री हुँदा बिचौलियासँग लेनदेन गरेको आरोप सार्वजनिक रुपमै लागेको थियो । एक सांसदले त आफूसँग प्रमाण सुरक्षित रहेको दाबी सार्वजनिक मिडियामै गरेका थिए । वर्तमान सरकारले आफूमाथि पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्ने भयले प्रचण्डको सचिवालयबाट गंगा बाहिरिएको उक्त स्रोतको दाबी छ ।
यसअघि गंगाका भाइ दिवंगत प्रकाश सचिवलायमा हुँदा पनि अनेकौं काण्डले विवादमा तानिएका थिए । प्रकाशको निधन भएपछि गंगाले बुबा प्रचण्डको सचिवालयमा रहेकी थिइन् । उनको बारेमा पनि अनेकौं प्रश्न उठेका थिए । लाखौंको ब्याग र घडी प्रयोग गर्दै विलासी जीवन व्यतित गरेको आरोप उनीमाथि लागेको छ । जेनजीले चलाएको नेपाबेबी अभियानमा आक्रोशको मुख्य निशानामा उनै थिइन् । यद्यपि गंगाले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै लाखौं मूल्य पर्ने कुनै पनि सामग्री आफूले अहिलेसम्म उपयोग नगरेको बताएकी छिन् ।
शनिबार मात्रै माओवादीका प्रभावशाली नेता वर्षमान पुनले माओवादी नेता र त्यसको नेतृत्व विरुद्ध सरकारले निशाना बनाउन थालेको भन्दै आक्रोश व्यक्त गरेका थिए । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित चियापान कार्यक्रममा पुनले कांग्रेस एमाले जस्तो माओवादीलाई नठान्न कार्की सरकारलाई चेतावनी दिँदै पार्टी र नेतृत्व विरुद्ध चालिने कदमको प्रतिवाद गर्ने बताएका थिए । उनले चुनावमा जान्छु भन्नेलाई तर्साउन खोजेको बताएका थिए ।
सरकारले आफ्नो पार्टीका नेताहरु विरुद्ध अनुसन्धान अघि बढाउन थालेको बुझेपछि पुन तर्सिएको माओवादी स्रोतले जनाएको छ । यसको केही दिन अघि नै पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र उनै पुन प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए । सरकारले आफूमाथि अनुसन्धान गर्न थालेपछि प्रभण्डले नेताद्वयलाई बालुवाटार पठाएको बताइन्छ । प्रधानमन्त्री कार्कीलाई भेटेर आफ्नो पार्टी संयोजक लक्षित छानबिन नगर्न गरिएको आगह्र प्रधानमन्त्री कार्कीले अस्वीकार गरे लगत्तै पुनले सरकारप्रपति आक्रोश पोखेका थिए ।
प्रतिक्रिया