तलबभत्ताको रकम सामाजिक सेवामा खर्चिदैँ फलेवासका वडाध्यक्ष

मंगलबार, ०४ कार्तिक २०८२, १२ : ३७

पर्वत– फलेवास नगरपालिका वडा नंं ४ मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आफुले जनप्रतिनिधि भएवापत राज्यबाट पाउने तलबभत्ता सामाजिक सेवामा लगाउनुभएको छ । 

उनले मासिक रुपमा पाउने रु २४ हजारभन्दा बढी रकमलाई समाजका विभिन्न क्षेत्रमा लगानी गरेका हुन् । उनले पछिल्लो पाँच महिनाको रकम मुडिकुवामा रहेका आमा समूहलाई र माझी परिवारलाई खाद्यान्नका लागि सहयोग गरेका छन् । 
    
मुडिकुवामा आयोजित एक कार्यक्रममा मुडिकुवामा टोलस्तरमा रहेका आठ महिला समूहलाई रु दश हजारका दरले हस्तान्तरण गर्नुभएको हो भने वडामै रहेका माझी परिवारलाई चाडवाडको बेला राहत मिलोस भन्ने उदेश्यले चामल, दाललगायतका खाद्यान्न सामग्री वितरण गरिएको तिवारीले बताए । 

तिवारीले यसअघि एक महिनाको तलब सुविधाले नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई ‘साउण्ड सिष्टम’ खरिद गर्नका लागि सहयोग गरेका थिए । जनताहरुले नै अमुल्य मत दिएर आफुलाई जनप्रतिनिधि बनाएकाले आफुले पाउने तलबभत्ता उनीहरुकै लागि खर्च गर्ने योजना बनाएको तिवारीले बताए। उक्त रकमले महिला समूहमा आपतकालीन सहयोग कोष स्थापना गर्न वा अन्य सामाजिक प्रयोजनमा प्रयोग गर्न सहज हुने उनको भनाइ छ । 

जनताले सर्वसुलभ रुपमा सेवा पाउनुपर्ने र वडाको आर्थिक, भौतिक तथा शैक्षिक विकासका लागि सबै एकजुट बनाउन आफुले भरपुर प्रयास गरेको उनको भनाइ छ । उनले सिमीत स्रोत र साधनका कारण नागरिकले चाहे जस्तो विकास गर्न नसकिएको बताउँदै आगामी दुई वर्ष भित्रमा चुनावमा गरेका घोषणा पुरा गर्न सक्रिय भएर लाग्ने प्रतिवद्धतासमेत व्यक्त गरे । 

नगरपालिकाका प्रवक्ता समेत रहनुभएका तिवारी नेपाली कांग्रेस पर्वतको सहसचिवसमेत हुनुहुन्छ । आगामी दिनमा पनि नागरिकको माग र आवश्यकताको आधारमा वितरण गर्दै जाने उनको भनाई छ । 

रकम हस्तान्तरण कार्यक्रममा पूर्व सांसद ऋषिकेश तिवारीले नगरपालिकालाई विकासका दृष्टिकोणले नमुना नगरपालिका बनाउनका लागि सबै राजनीतिक दल र स्थानीयवासी एकजुट भएर अघि बढ्नुपर्ने सुझाव दिए ।
 

 
मंगलबार, ०४ कार्तिक २०८२, १२ : ३७

प्रतिक्रिया