टीकापुर उद्यानद्वारा दुई दिनमा साढे पाँच लाख दस्तुर संकलन

आइतबार, ०९ कार्तिक २०८२, १३ : ०३

काठमाडौं- टीकापुर नगरपालिका–५ स्थित कर्णाली नदीको तटमा रहेको टीकापुर बहृत उद्यानमा दुई दिनमा पर्यटक प्रवेश शुल्कबाट रु पाँच लाख ४५ हजार संकलन भएको छ । 

दसैँ र तिहारपछि उद्यानमा आन्तरिक पर्यटक बढेका छन् । टीकापुर उद्यानमा शनिबार छ हजार ५०० पर्यटक भित्रिएका छन् । शनिबार पर्यटकको प्रवेश शुल्कबाट रु तीन लाख ६० हजार राजस्व संकलन भएको छ । शुक्रबार रु एक लाख ८५ हजार संकलन भएको पार्क इञ्चार्ज अर्जुन कुँवरले जानकारी दिए । बृहत उद्यान तथा टीकापुर पार्कमा आउने कतिपय पार्कमै पिकनिक खाने र रमाउने गर्दछन्, भने कतिपय घुमघाम गर्ने, नदी किनारमा रहेको मोटरबोटमा सवार गरेर फर्कने गरेका छन् । पार्कमा फोटो खिच्ने र टिकटक बनाउनेको भीड लाग्न थालेको छ ।

कालिकोटको रास्कोटका ज्येष्ठ नागरिक कृष्णप्रसाद न्यौपाने टीकापुर आएका बेला पार्क पुगे । उनलाई पार्क असाध्यै मनप¥यो । “तिहार मनाउन टीकापुर आएको थिएँ, उद्यान राम्रो छ, घुमेर जानुस् भनेर आफन्तले भनेपछि घुम्न आएको हुँ”, न्यौपानेले भने, “पार्क असाध्यै सुन्दर रहेछ, यहाँ आएपछि आनन्द महसुस भयो, स्वर्गीय राजा वीरेन्द्र र रानी ऐश्वर्यको सम्झनाका ऐतिहासिक भवन रहेछन् ।”

कपिलबस्तुबाट समूहमा पार्क घुम्न आउनुभएका धु्रव पन्थी पहिलो पटक टीकापुर उद्यान घुम्न पुगे । चिसापानी, महाकालीपछि पार्क पुगेका उनलाई पूराना बिरुवा, माटोले बनेका सडक सुन्दर, कर्णाली नदीको तट असाध्यै सुन्दर लाग्यो । “इतिहास बोकेको पार्क हेरौँ भनेर आएका हौँ, राम्रो लाग्यो, कर्णाली नदी किनारमा पनि राम्रो पार्क बनाइएको रहेछ”, उनले भने, “पार्क घुमेपछि कर्णाली नदीमा मोटरबोटमा रमाउन पाइयो ।”

पार्क आउनेहरु अधिकांश फोटो खिच्ने र टिकटक बनाउने गर्दछन् । लम्कीचुहाको कौवापुरकी धनसरा विष्टको समूहले पनि पार्कमा रमाइलो गरेको छ । “पार्कमै पकाएर, नाचगान गर्दै खायौँ”, उनले भने, “देउसीभैलो खेलेर दर्जनौँ समूह पिकनिक खान आएका छन् ।”

तिहारपछि देउसीभैलो खेलेर पिकनिक खान आउनेको पनि पार्कमा भीड लागेको छ । पार्कमा दैनिक हजारौँ पर्यटक आउन थालेपछि नगरपालिका व्यवस्थापनमा जुटेको छ । तिहारपछि पार्कमा पर्यटक बढने समयमा नगरपालिकाले पार्कमा कर्मचारी व्यवस्थापन, सुरक्षाकर्मी व्यवस्थापन र पर्यटकको सहजताका लागि काम गरिरहेको प्रशासकीय अधिकृत देवीप्रसाद आचार्य बताउछन् । 

“पालिकाले सहज प्रवेशका लागि टिकट काट्न तीन काउन्टर सञ्चालन र नगर प्रहरी परिचालन गरेको छ”, उनले भने, “यसका साथै शान्ति सुरक्षाका लागि प्रहरीको सहयोग लिएका छौँ, केही दिनका लागि पार्कमा कर्मचारी र सरसफाइकर्मी थप गरिएको छ ।”

 
आइतबार, ०९ कार्तिक २०८२, १३ : ०३

प्रतिक्रिया