काठमाडौं- जाडोयाम सुरु भएसँगै हिमपातको जोखिम बढेपछि म्याग्दी जिल्ला प्रशासन कार्यालयले पर्यटकीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासन कार्यालयले सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको हो
जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार देशका विभिन्न भू–भागमा कात्तिक १० देखि १२ गतेसम्म सामान्यदेखि हल्का वर्षा र हिमपात हुने सम्भावना छ।
म्याग्दी जिल्लाभर आजदेखि पानी परिरहेको र अन्नपूर्ण बेसक्याम्प (एबिसी) मा हल्का हिमपात सुरु भइसकेको जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ।
जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावित क्षेत्र भएकाले प्रशासनले स्थानीय बासिन्दा, पर्यटक, पर्यटन व्यवसायी र पदयात्रीहरूलाई आफू रहेको र यात्रा गर्ने क्षेत्रको मौसमी अवस्था र बसोबासको व्यवस्था ख्याल गरेर सुरक्षित रहन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले आज बेलुकादेखि कात्तिक १४ गते बेलुकासम्म अन्नपूर्ण बेसक्याम्प (एबीसी) जान पूर्ण रूपमा रोक लगाइएको जानकारी दिएको छ ।
म्याग्दी जिल्लाका जोखिमयुक्त पर्यटकीय स्थलहरूमा अन्नपूर्ण बेसक्याम्प, घोडेपानी, पुनहिल, खोप्रा, धौलागिरि पदमार्ग र मोहरेडाँडा छन् । हिमपातजन्य मौसमी जोखिमबाट नागरिकको सुरक्षाका लागि आवश्यक भूमिका निर्वाह गर्न सरोकारवाला तथा स्थानीय तहहरूलाई समेत जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताएका छन्।

प्रतिक्रिया