बैंकिङ क्षेत्रको निक्षेप ७४ खर्ब ७५ अर्ब पुग्यो, कर्जाको माग घट्दो

मंगलबार, १८ कार्तिक २०८२, १३ : ४३

काठमाडौं- बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम बढ्दो देखिएको हो । 

कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका छन् । 

वाणिज्य बैंकहरू मात्रै ५० खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंककाअनुसार विकास बैंक तथा फाइनान्सले यो अवधिमा ७ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेका छन् । बैंक तथा फाइनान्सले  कर्जा प्रवाह भने ६ खर्ब २३ अर्ब गरेको तथ्यांकले देखाउँछ । यो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) भने ७४ दशमलव २५ प्रतिशत रहेको छ ।

पछिल्लो समय कर्जाको माग निरन्तर घट्दो क्रममा रहेको छ । बैंकहरुले कर्जाको लागि निर्धारण गर्ने औसत आधार दर महिनैपिच्छे घट्दै आएको छ । कात्तिक महिनाको लागि बैंकहरूको औसत ब्याजदर ५.६७ प्रतिशत निर्धारण भएको छ । यो ब्याजदर निकै कम हो । यसमा निश्चित प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आएका छन् । पछिल्लो समय आधार दरमा निकै न्यूनमात्रै प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आएका छन् । तर पनि कर्जा प्रवाह बढ्नै सकेको छैन ।

नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप १ सय ७५ दिनका लागि खिचेको थियो भने अघिल्लो साताको बुधबार पनि राष्ट्र बैंकले बजारबाट १ सय ७५ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो । त्यसअघि राष्ट्र बैंकले यतिधेरै अवधिका लागि पछिल्ला वर्षहरूमा निक्षेप उठाएको थिएन ।

 
 
 
मंगलबार, १८ कार्तिक २०८२, १३ : ४३

प्रतिक्रिया