एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यद्वारा पदभार ग्रहण

विहीबार, २० कार्तिक २०८२, १३ : ४९

काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले आज कात्तिक २० गते औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। 

बैंकको सञ्चालक समितिको कात्तिक १७ गते बसेको ७३६औं बैठकको निर्णय अनुसार उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

झन्डै तीन दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय शाक्यले भारतको दिल्ली युनिभर्सिटीबाट बाणिज्यमा स्नातक र इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर डिग्री हासिल गरेका छन् । 

सन् १९९६ देखि बैंकिङ यात्राको सुरुवात गर्दै उनले नेपाल श्रीलंका मर्चेन्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, बैंक अफ एशिया नेपालमा बिजनेस बैंकिङ प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गरे ।

तत्कालीन बैंक अफ एशिया नेपाल र एनआईसी बैंकको मर्जर प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रमुख कार्यकारी अधिकृत शाक्यले मर्जरपछि बनेको एनआईसी एशिया बैंकमा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ प्रमुख भई महत्वपूर्ण भूमिका निर्वाह गरे । तत्कालीन सिभिल बैंक, तत्कालिन जनता बैंक, ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका शाक्य एनआईसी एशिया बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनुपूर्व नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

शाक्यको रणनीतिक दृष्टिकोण, विश्लेषण क्षमता र दीर्घ बैंकिङ अनुभवले बैंकलाई आगामी दिनमा थप सबल, गतिशील र परिणाममुखी बनाउन मद्दत गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

 
विहीबार, २० कार्तिक २०८२, १३ : ४९

प्रतिक्रिया