काठमाडौं- लुम्बिनी विकास बैंक लिमिटेडले विश्वकीर्तिमान पर्वतारोही कामी रिता शेर्पालाई विशेष सम्मान गरेको छ। शेर्पाले हालै ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै बैंकको लोगो अंकित ब्यानर सहित सगरमाथाको शिखरमा पुगेर ऐतिहासिक उपलब्धि हासिल गरेका थिए।
काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पालाई सम्मानपत्र प्रदान गर्दै उनको निरन्तर प्रगति र स्वास्थ्यको कामना गरेका छन्।
विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकका “निरन्तर सहयात्री” रहेका शेर्पाले आफ्नो कीर्तिमान आरोहणलाई व्यक्तिगत मात्र नभई परिवार, शेर्पा समाज र सम्पूर्ण नेपालका लागि गौरवको क्षण भएको बताए। उनले लुम्बिनी विकास बैंकप्रति लामो सहयात्राको कृतज्ञता पनि व्यक्त गरे।
लुम्बिनी विकास बैंकले देशभरका ७ वटै प्रदेशमा ८९ शाखा कार्यालय र १ विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) मार्फत सेवा सञ्चालन गर्दै आएको छ। “निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले आधुनिक प्रविधि, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
कार्यक्रमको अन्त्यमा बैंकका तर्फबाट शेर्पाको साहसिक उपलब्धिलाई राष्ट्रिय गौरवको प्रतीकका रूपमा बधाई दिइएको थियो।
प्रतिक्रिया