एक्सप्लोर अर्थ मुभर्स प्रालिद्वारा नेपालको पहिलो इलेक्ट्रिक ह्वील लोडर सार्वजनिक

मंगलबार, २५ कार्तिक २०८२, १२ : १४

काठमाडौं- नेपालमा पहिलो पटक विद्युतीय ह्वील लोडर सार्वजनिक गरिएको छ। पन्चकन्या समूहसँग सम्बद्ध एक्सप्लोर अर्थ मुभर्स प्रा. लि. ले आफ्नो नयाँ मोडेल’ इलेक्ट्रिक ह्वील लोडर औपचारिक रूपमा बजारमा ल्याएको हो। ललितपुर महानगरपालिका वडा नम्बर ३, कृष्णगल्लीस्थित कम्पनीको प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा यो वातावरणमैत्री मेसिन सार्वजनिक गरिएको थियो।

कम्पनीका अनुसार एक्सप्लोर अर्थ मुभर्सले लामो समयदेखि विभिन्न निर्माण उपकरणहरूको बिक्री तथा वितरण गर्दै आएको छ र यसपटक पहिलो पटक पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित ह्वील लोडर बजारमा ल्याएको हो। यो लोडरले वातावरणमा हुने प्रदूषणलाई न्यून पार्दै नेपाल सरकारले प्रवर्द्धन गरिरहेको विद्युतीय सवारीसाधन प्रयोग अभियानलाई सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ।

नयाँ मोडेल अत्याधुनिक इलेक्ट्रिक ड्राइभ प्रणाली र स्मार्ट ब्याट्री व्यवस्थापन प्रविधिबाट सुसज्जित छ। यसले कम ऊर्जा खपत गर्ने, न्यून मर्मत लागतमा सञ्चालन गर्न सकिने तथा कम आवाजमा काम गर्ने सुविधा प्रदान गर्दछ। यो लोडर सहरभित्रका निर्माण कार्यहरू, औद्योगिक स्थलहरू र वातावरणीय दृष्टिले संवेदनशील स्थानहरूमा प्रयोगका लागि अत्यन्त उपयुक्त हुने कम्पनीले जनाएको छ।

यो इलेक्ट्रिक लोडरले शून्य उत्सर्जन गर्दै सफा हावा र हरित ऊर्जामा योगदान पुर्‍याउनेछ। यसको उच्च ऊर्जा दक्षताले एक पटकको चार्जमै लामो समयसम्म सञ्चालन गर्न सहयोग पुर्‍याउँछ भने यसको बलियो संरचना र शक्तिशाली मोटरले परम्परागत डिजेल लोडरभन्दा उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको दाबी छ।

यसमा प्रयोग गरिएको १८०.५ एच क्षमताको लिथियम आयरन फस्फेट ब्याट्री, ६० किलोवाटको नियमित र ९० किलोवाटको अधिकतम मोटर शक्ति तथा १.५ देखि ३.० घनमिटर क्षमताको बकेट जडान गरिएको छ। यी सबै सुविधासहितको यो लोडरले नेपालमा निर्माण उपकरण क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने कम्पनीको विश्वास छ।

हाल यो नयाँ इलेक्ट्रिक ह्वील लोडर एक्सप्लोर अर्थ मुभर्स प्रा. लि. को बाल्खु, काठमाडौंस्थित शोरुममा प्रदर्शनका लागि उपलब्ध छ। कम्पनीले इच्छुक ग्राहक र साझेदारहरूलाई यस नयाँ प्रविधिको प्रत्यक्ष अनुभव लिनका लागि हार्दिक निमन्त्रणा गरेको छ।

मंगलबार, २५ कार्तिक २०८२, १२ : १४

प्रतिक्रिया