हिमालयन बैंकको डिजिटल बैंकिङ सेवा सधैंजसो अवरुद्ध, लाखौं ग्राहक मारमा

बुधबार, २६ कार्तिक २०८२, १६ : ०६

काठमाडौं– केही दिनयता हिमालयन बैंकको डिजिटल कारोबार र एटिएम सेवामा अवरोध आइरहेको गुनासो बढेको छ । बैंकले असोज ३० गते सिष्टम अपग्रेड गर्ने भन्दै कार्तिक ३ देखि १० गतेसम्म सेवा उपलब्ध नहुने सुचना जारी गरेको थियो । बैंकिङ सिष्टम अपग्रेड हुने भएपछि ग्राहकहरु उक्त समयावधिसम्म कुरेर बसेका थिए । 

११ गतेबाट सुचारु हुने भनिएको बैंकिङ सिष्टम उक्त समयावधिभित्र सञ्चालनमा आउन सकेन । यता बैंकले भने मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा अवरुद्ध भएकाले गुणस्तरीय तथा उच्चस्तरीय बनाउने लक्ष्य गरिएकोे कारण केही समय ढिलो हुन गएको भन्दै ग्राहकवर्गसंग क्षमायाचना समेत मागेको थियो । 

तर, १२ र १३ गते हुँदाहँदै हप्ता, महिनौसम्म बैंकिङ सेवा सञ्चालनमा आएन । यतिबेला हिमालयन बैंकका ग्राहकहरु तनावग्रस्त अवस्थामा छन । समस्याबारे जानकारी गराउँदा हिमालय बैंकका कर्मचारीहरुले पनि फोन नउठाएको जस्ता आम ग्राहकबाट गुनासो आइरहेको छ । 

हिमालय बैंकको लापरबाहीले डिजीटलदेखि एटिएम मार्फत कारोबार गर्ने लाखौं ग्राहकहरु अन्योलमा परेका छन । यसबाट आजित भएर विदेशमा बस्ने ग्राहकहरुले त हिमालय बैंकको खिल्ली उडाउँदै यस बैंकमा आफ्नो सात पुस्ता समेतले कारोबार नगर्ने बाचा समेत गरेका छन् ।

बैंकको यस्तो अनुचित र लापरबाहीपूर्ण कामले ग्राहकवर्गमा रिस,आक्रोश दिनानुदिन थपिँदै गएको छ । हिमालय बैंकको फेसबुक पेजमा ग्राहर्कहरुले आक्रोश व्यक्त गरेको देखिन्छ । ‘हिमालय बैंक चोर रहेछ’, ‘यो बैैंक होइन,सहकारी ठगी हो’, ‘ जाबो एउटा एप अपडेट गर्न कति समय लगाएको’, ‘यस्तो बैंकमा अब कसैले कारोबार नगरौं’’ जस्ता नकारात्मक प्रतिक्रिया दिएका छन । 

आजको अर्थसँग कुराकानी गरेका एक ग्राहकले ‘बैंकको एटिएममा समेत समस्या रहेको’ बताए । उनले एटिएम प्रयोग बापतको शुल्क लिने तर समयमै सेवा नदिने बैंकको लापरबाहीले आजित भएको बताए । उनले भने,‘एटिएम धेरै जसो नचल्ने चनेपनि पैसा नहुने, बैंकबाट पैसा काटिएको नोटिफिकेसन आउने तर एटिएमबाट पैसा प्राप्त नहुने, रिफण्ड ४/५ दिन लगाउने र बैंकमै सम्बन्धित व्यक्ति जाँदा फारम भराउने तर लामो समय लगाउने । त्यस्तै ३ वर्षको एटिएम चार्ज वाफत् रु.१५०० काटिएको जबकी अन्य बैंकहरुमा बार्षिक चार्ज जम्मा रु.२५० मात्र रहेको छ ।’ 

यसबारेमा प्रतिक्रिया लिन बैंकका कर्मचारीलाई सम्पर्क गर्दा उनीहरु सामान्य समस्या भन्दै जवाफ दिनबाट पन्छिए ।

 

 
 
बुधबार, २६ कार्तिक २०८२, १६ : ०६

प्रतिक्रिया