अपि पावरले तीन महिनामा कमायो २६ करोड नाफा, ईपीएसमा पनि वृद्धि

बुधबार, २६ कार्तिक २०८२, १६ : १३

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासमा २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४४.६० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत् बिक्रीमार्फत ४७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.७८ प्रतिशतले बढी हो । कम्पनीले यो अवधिसम्म २ हजार रुपैयाँ अन्य आम्दानी र ७७ हजार रुपैयाँ वित्त आम्दानी गरेको छ ।

कम्पनीको प्रशासनिक खर्च ८२ लाख ६ हजार, बिक्री÷वितरण खर्च ५ करोड ९२ लाख , ह्रासकट्टी खर्च १० करोड ५५ लाख र वित्त खर्च ११ करोड ६६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको वित्त खर्च १८ करोड ६८ लाख थियो ।

६ अर्ब ७ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ८२ करोड ६६ लाख र कुल चालु दायित्व १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा सोही अवधिमा १२.५६ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७.३० रुपंयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११४.७४ रुपंयाँ, मूल्य आम्दानी अनुपात १५.६२ गुणा र तरलता अनुपात ०.४९ प्रतिशत कायम भएको छ ।

 
बुधबार, २६ कार्तिक २०८२, १६ : १३

प्रतिक्रिया