आयल निगम यसकारण  नयाँ कर्मचारी भर्नाको  प्रक्रियामा

६ बर्ष अगाडि

काठमाडौँ- सरकारले इन्धन कारोबारमा एकाधिकारप्राप्त नेपाल आयल निगमको संरचना परिवर्तन गर्ने भएको छ । परम्परागत ढाँचामा सेवा विस्तार गर्दै आएको निगमको संरचना परिवर्तन गरी समसामयिक बनाउन लागिएको सरकारले जनाएको छ । 

निगमलाई हालको सेवामूलकबाट पूर्ण रूपमा व्यवसायमूलक बनाई परम्परागत ढाँचालाई परिवर्तन गर्दै नयाँ संरचनामा लैजान लागिएको आपूर्ति सचिव अनिलकुमार ठाकुरले जानकारी दिए । 'निगम कर्मचारी र सञ्चालक समितिबीच छलफल गरेर निगमका देखिएको समस्यालाई कसरी सम्बोधन गर्ने भनेर रणनीति योजना तयार गर्न लागिएको छ,' सचिव ठाकुरले भने, 'निगममा पुरानो मोडलको व्यवस्थापन रहेकाले त्यसलाई समसामयिक बनाउन लागिएको छ ।' 
'उदारीकरण नीतिअनुसार कानुन, व्यवस्थापन, लगानी, संरचना र दक्ष जनशक्ति भएन भने निगमलाई नयाँ ढाँचामा लैजान सकिँदैन,' सचिव ठाकुरले भने, 'सोहीअनुसार निगमको हालको संरचनामा परिवर्तन गरी नयाँ संरचनामा लैजान लागेका छौं ।'
 निगमको प्राविधिक र व्यवस्थापन पक्ष सुधार गर्न लागिएको सचिव ठाकुरले जानकारी दिए । निगमको टेकुमा रहेको जग्गामा अटो हब बनाउने तयारी गरिएको छ भने बबरमलमा रहेको केन्द्रीय कार्यलयलाई कर्पाेरेट कार्यालयका रूपमा स्तरोन्नती गर्ने तयारी गरिएको मन्त्रालयको भनाइ छ । 
निगमले दिँदै आएको सेवा प्रभावकारी बनाउनका लागि नयाँ कर्मचारी भर्ना गर्न लागिएको  छ । निगमको प्राविधिक र व्यवस्थापकीय क्षमता बढाउन अति जरुरी रहेको भन्दै सचिव ठाकुरले निगमका देखिएका समस्यालाई समाधान गर्ने गरी एउटा छुट्टै खाका तयार गर्न आवश्यक रहेको बताए । 
“निगमको मुख्य काम भनेको इन्धन आपूर्ति सहज पार्ने हो,” उनले भने, “खर्बौं रुपैयाँको कारोबार गर्ने संस्थाको चुक्तापुँजी कम भएकाले वृद्धि गर्न लागिएको छ ।” प्राथमिकताका क्षेत्रलाई एकिन गरेर सोहीअनुसार काम अगाडि बढाइने मन्त्रालयको भनाइ छ । 
हाल निगमको चुक्ता पुँजी २९ करोड रूपैयाँ छ । कारोबार दैनिकमा खबर छ |

६ बर्ष अगाडि

प्रतिक्रिया