काठमाडौं- चिनियाँ इलेक्ट्रिक भेहिकल निर्माता एक्सपेङको नयाँ एसयूभी मोडल ‘एक्सपेङ मोना’ को तस्बिर सार्वजनिक भएको छ।
कुपे–स्टाइल डिजाइनमा तयार गरिएको यो नयाँ एसयूभी कम्पनीको हाल बजारमा रहेका मोडलभन्दा किफायती हुने अपेक्षा गरिएको छ।
नेपालमा अहिले एक्सपेङ जी–सिक्स बिक्रीमा रहेको छ। बजारको माग हेरेर कम्पनीले एक्स–नाइन मोडल उपलब्ध गराउन सकिने बताइएको छ। एक्सपेङका गाडीहरू नेपालमा सीजी मोटर्स मार्फत बिक्री वितरण हुँदै आएका छन्।
यस मोना एसयूभीको मूल्य लगभग १६,७०० अमेरिकी डलर रहने अनुमान गरिएको छ, जुन अहिलेको जी–सिक्स मोडलभन्दा निकै किफायती हुनेछ।
टेक्निकल पार्टनरको रूपमा फक्सवागेन ग्रुप जोडिएसँगै एक्सपेङले युरोपेली कर सम्बन्धी फाइदा लिन जर्मनीमा उत्पादन प्लान्ट स्थापना गर्ने तयारी गरेको छ। योजना सफल भएमा युरोपमा बिक्री हुने मोना एसयूभी त्यही प्लान्टबाट उत्पादन गरिनेछ।
स्मार्ट डिजाइन र साइजका आधारमा विश्लेषण गर्दा एक्सपेङ मोना एसयूभीले टेस्ला मोडल थ्री को सिधा प्रतिस्पर्धी बन्ने उद्योग विश्लेषकहरूको धारणा छ। यद्यपि, यसले ल्याउने फिचरहरूको आधिकारिक विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
युरोपमा मोडल उपलब्ध भएपछि नेपाली बजारमा पनि मोना एसयूभी भित्रिने अपेक्षा गरिएको छ। यसअघि पनि एक्सपेङले बेलायत लगायतका बजारमा बिक्री गर्ने मोडल नेपालमा उपलब्ध गराउँदै आएको छ।
प्रतिक्रिया