काठमाडौं- चालु आर्थिक वर्षको कात्तिकसम्म ३८२ वटा वैदेशिक लगानीका उद्योग खोल्ने प्रस्ताव स्वीकृत भएको छ। ४ महिनामा ३६ अर्ब रुपैयाँ बराबरका उद्योग दर्ताको प्रतिबद्धता आएको हो।
विभागमा धेरै उद्योग अटोमेटिक रुटबाट दर्ता हुन थालेका छन्। २५१ उद्योग अटोमेटिक रुटबाटै दर्ता भएका छन्। अटोमेटिक रुटबाट दर्ता हुँदा प्रणालीले नै डकुमेन्ट परीक्षण गरी स्वीकृत हुने गरेका छन्।
अनलाइनबाट आवेदन दिए पनि विभागका कर्मचारीले फाइल हेरेर १३१ वटा उद्योग सञ्चालनका लागि स्वीकृत दिएका छन्। नेपालमा भित्रने उद्योग मध्ये ७ वटा ठुला, ६ वटा मध्यम खालका र ३६९ वटा साना उद्योग रहेका छन्। उद्योग दर्ताको आधारमा हेर्दा ५४ प्रतिशत सूचना प्रविधि क्षेत्रका उद्योगले स्वीकृति पाएका छन्। पर्यटन क्षेत्रका ३१ प्रतिशत, उत्पादनतर्फ ६ प्रतिशत, सेवा क्षेत्रका ६ प्रतिशत, ऊर्जाका १ प्रतिशत र खानीका १ प्रतिशत उद्योग छन् ।
रकम प्रतिबद्धताको आधारमा हेर्दा भने कृषिमा ६० प्रतिशत र पर्यटनमा २४ प्रतिशत छ। आइसिटिमा भने २ प्रतिशत मात्रै लगानी प्रतिबद्धता रहेको छ। कृषिमूलक उद्योगमा २१ अर्ब ८८ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता रहेको छ। पर्यटनमा ८ अर्ब ९४ करोड, सेवा क्षेत्रमा ३ अर्ब, उत्पादनमूलक उद्योगमा १ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ।
पहिलो ४ महिनाको तथ्यांक हेर्दा विदेशी लगानीकर्ता आउने संख्या घटेको छ। गत आर्थिक वर्षको ४ महिनामा एक हजार २० जना रहेकोमा अहिले ७७१ जना भित्रिएका छन्। कम्पनीका प्रतिनिधिको रूपमा गत वर्ष २०५ जनाले नेपाल आउन अनुमति लिएकोमा अहिले १२२ जना मात्रै रहेका छन्। डिपेन्डेन्ट भिषामा गत वर्ष ३३२ जना आएकोमा चालु आर्थिक वर्षमा २२५ जना आएको तथ्यांक छ ।
नेपालमा लगानी गरेको रकमबाट रोयल्टी र नाफा लैजाने पनि बढेका छन्। रोयल्टी बापत लगानीकर्ताले १ अर्ब ८ करोड रुपैयाँ फिर्ता लगेका छन्। गत वर्ष ३८ करोड नेपाली रुपैयाँ फिर्ता लगेका थिए। त्यस्तै डलरमा रोयल्टी रकम घटेको छ। गत वर्ष ८ लाख १५ हजार डलर विदेशीएकोमा अहिले २ लाख १४ हजार डलर मात्रै बाहिरिएको छ। त्यसै गरी भारतीय रुपैयाँमा ९५ लाख रुपैयाँ रोयल्टी लगेका छन्।
नाफाको अंशबाट २ अर्ब ९० करोड रुपैयाँ राजश्व फिर्ता लगेका छन्। गत वर्ष ६ करोड ७० रहेको छ।
प्रतिक्रिया