प्रमुख स्वकीय सचिव श्रेष्ठलाई थर मिलेकै आधारमा लाञ्छना लगाइयोः प्रधानमन्त्रीको सचिवालय

सोमबार, ०८ मंसिर २०८२, १३ : २१

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई नियुक्त गरेको विषयमा अनावश्यक रुपमा जोडिएको जनाएको छ । साथै कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको जिकिर गरेको छ ।

यो पनि पढ्नुस्

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमतीसहितका नातेदारलाई दिलाए नियुक्ति, पदमुक्त गर्न माग

चौतर्फी आचोचनापछि प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ ।’

‘यसबाहेक अन्य नियुक्तिहरुमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि अनुरोध छ,’ विज्ञप्तिमा लेखिएको छ ।

‘कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सक्ने दरबन्दी भए पनि हाल २ जना मात्र नियुक्त हुनुभएको छ । १९ जना विज्ञ कर्मचारी राख्न सक्ने दरबन्दी भए पनि ४ जना मात्र नियुक्त गरिएको छ, जसमध्ये एक जना अवैतनिक हुनुहुन्छ । स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत हुनुहुन्छ’ चिवालयको विज्ञप्तिमा लेखिएको छ, ‘यी सबै गरी ६७ जनाको दरबन्दी रहेको र विगतका सरकारहरुले प्रायस् ती सबैमा पदपूर्ति गरी आएकामा हाल सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्त जरुरी र नगरी नहुने कामका लागि मात्र निकै कम जनशक्तिको अर्थात् २० जनाको मात्र सचिवालय बनाउनुभएको छ ।’

pm

 
 
 
 
सोमबार, ०८ मंसिर २०८२, १३ : २१

प्रतिक्रिया