अपडेट

सरकारको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब माथि, चार महिनामा १ खर्ब ५० अर्ब भुक्तानी

बुधबार, १० मंसिर २०८२, १६ : ३०

काठमाडौं- सरकारको सार्वजनिक ऋणको हिस्सा २७ खर्ब नाघेको छ । सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कात्तिक मसान्तसम्मको अवधिमा नेपालको सार्वजनिक ऋणमध्ये बाह्य हिस्सा १४ खर्ब ५३ अर्ब ४५ करोड रहेको छ भने आन्तरिक तर्फको यस्तो ऋण १२ खर्ब ७५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । यो सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४.६९ प्रतिशत हो ।

चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको सरकारले सुरुका चार महिनाको अवधिमा १ खर्ब ३८ अर्ब ७५ करोड ऋण परिचालन गरेको छ ।

वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति २३.२९ प्रतिशत रहेको छ । कात्तिक मसान्तसम्म १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ५० अर्ब ८८ करोड ऋण भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये १ खर्ब २७ अर्ब ६१ करोड साँवा र बाँकी २३ अर्ब २७ करोड रुपैयाँ ब्याज हो । 

सार्वजनिक ऋणको ब्याज भुक्तानीमा प्रयोग भएको रकम चालु खर्चमा समावेश गरिन्छ । यस कारण उक्त अवधिमा उठाइएको १ खर्ब ३८ अर्ब ७५ करोड रकममा साँवा भुक्तानीमा खर्च भएको १ खर्ब २७ अर्ब ६१ करोड घटाइन्छ । विदेशी मुद्राको विनिमयदरमा परिवर्तन आउँदा भएको ४४ अर्ब २२ करोड जोड्दा गएको दुई महिनामा ५५ अर्ब ३६ करोड सार्वजनिक ऋण थपिएको छ ।

 
 
बुधबार, १० मंसिर २०८२, १६ : ३०

प्रतिक्रिया