त्रिभुवन विश्वविद्यालयमा हिमालयन रीम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु

सोमबार, २९ मंसिर २०८२, १० : ३८

काठमाडौं- ‘हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी – २०२५’ त्रिभुवन विश्वविद्यालयमा आइतबार औपचारिक रूपमा सुरु भएको छ।

क्षेत्रीय सांस्कृतिक पहलका रूपमा नेपालमा पहिलोपटक आयोजना गरिएको यो प्रदर्शनीले चिनियाँ एनिमेसन र डिजिटल सिर्जनालाई सीमापार सांस्कृतिक संवादको रुपमा प्रस्तुत गरेको छ। “सभ्यतागत पारस्परिक सिकाइ, प्रविधिगत नवप्रवर्तन” भन्ने नारासहित आयोजित कार्यक्रममा चलचित्र प्रदर्शन, सिर्जनात्मक कार्यशाला, सांस्कृतिक प्रदर्शनी तथा अन्तरक्रियात्मक छलफल हरू समेटिएका छन्। यो प्रदर्शनीको मुख्य  मुख्य लक्ष्य विश्वविद्यालयका विद्यार्थीहरूलाई चिनियाँ प्रविधी र नवप्रवर्दन बारे जानकारी दिने र साक्षात्कार गराउने रहेका आयोजकले जानकारी दिएको छ। 

WhatsApp Image 2025-12-15 at 10.23.36 AM

त्रिभुवन विश्वविद्यालयको आमसंचार तथा पत्रकारिता विभागमा आयोजित सो कार्यक्रमको उद्घाटन सत्र आधुनिक प्रविधिमैत्री प्रस्तुतीकरणबाट सुरु भएको थियो। एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिबाट तयार गरिएको प्रवर्द्धनात्मक छोटो चलचित्र प्रदर्शनपछि पूर्ण रूपमा एआईद्वारा निर्माण गरिएको एनिमेटेड सर्ट फिल्म ‘द स्पिरिट अफ द माउन्टेन्स’ देखाइएको थियो। चिनियाँ अमूर्त सांस्कृतिक सम्पदा अन्तर्गत पर्ने ‘क्वानसिङ तुओ’ (पूर्ण आकारको रबिङ कला) प्रविधिबाट प्रेरित उक्त फिल्मले परम्परागत सांस्कृतिक रूपलाई एआई प्रविधिमार्फत कसरी पुनःव्याख्या गर्न सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ। 

WhatsApp Image 2025-12-15 at 10.23.37 AM

फिल्मका निर्देशक पाङ जियाले भिडियो लिंकमार्फत कार्यक्रममा सहभागिता जनाउँदै एआई आधारित दृश्य निर्माण प्रक्रियाका बारेमा जानकारी गराएका थिए । निर्माता जुनयान ह्वाङले विद्यार्थीहरूसँग प्रत्यक्ष प्रश्नोत्तर सत्रमा सहभागी हुँदै कार्यक्रमलाई अझ जीवन्त बनाएका थिए । यस्तो अन्तरक्रियाले आफुहरुमा उल्लेखनीय उत्सुकता र रोमाञ्चकता सिर्जना गरेको कार्यक्रममा सहभागी बिद्यार्थीहरुले बताएका छन्।

सो अवसरमा ‘द लिजेन्ड अफ हेइ २’ प्रदर्शन गरिएको थियो, जसले ठूलो संख्यामा विद्यार्थीलाई आकर्षित गरेको थियो। ‘गतिशील स्टोरीबोर्ड प्रि–भिजुअलाइजेसन’ प्रविधि प्रयोग गरिएको उक्त फिल्मले मानिस र पर्वत, जल, वन, ढुंगा तथा जनावरलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने पात्रहरूबीचको सहअस्तित्वको कथा सुनाउँछ। प्रकृति र मानवबीचको सामञ्जस्यलाई केन्द्रमा राखिएको यसको पर्यावरणीय सन्देशले विद्यार्थी दर्शकमाझ गहिरो प्रभाव पारेको दर्शकको रुपमा रहेका अधिकांश बिद्यार्थीले बताएका छन्। फिल्म प्रदर्शनपछि आयोजित ‘ब्लाइन्ड बक्स’ अन्तरक्रियात्मक गतिविधिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो। जहाँ विद्यार्थीहरूले प्रश्नोत्तर कार्यक्रममा सहभागी बन्दै बिभिन्न सामग्री जित्ने अवसर समेत पाएका थिए।

WhatsApp Image 2025-12-15 at 10.23.38 AM (1)

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूले प्रदर्शनीलाई व्यापक रूपमा स्वागत गर्दै यसले नेपाल-चीन साँस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरेका छन्। सहभागीहरूका अनुसार कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई समसामयिक चिनियाँ एनिमेसन प्रविधि र उदीयमान डिजिटल उत्पादन मोडेलबारे बुझ्न महत्वपूर्ण अवसर बनेको छ। धेरै विद्यार्थीहरूले नेपाल र चीनबीच डिजिटल सिर्जनात्मकता र एनिमेसनको क्षेत्रमा भविष्यमा सहकार्यको सम्भावनाप्रति चासो व्यक्त गरेका छन्।

 
सोमबार, २९ मंसिर २०८२, १० : ३८

प्रतिक्रिया