राष्ट्र बैंकद्वारा गैरबैंकिङ सम्पत्ति र कर्जा व्यवस्थापन प्रक्रियामा नयाँ व्यवस्था लागू

सोमबार, २९ मंसिर २०८२, १३ : ३६

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकहरूले ऋणीको धितो स्वीकार्ने प्रक्रियामा नयाँ व्यवस्था लागू गरेको छ। 

केन्द्रीय बैंकले जारी गरेको नयाँ परिपत्रअनुसार अब बैंकहरूले कम्तीमा ३ पटकसम्म धितो लिलाम गर्दा पनि बिक्री नभएमा मात्र उक्त धितो आफैंले स्वीकार गर्नुपर्ने भएको छ।

पहिलेको व्यवस्था अनुसार दुई पटक लिलाम गरिसकेपछि पनि बिक्री नभए बैंकले स्वतः गैरबैंकिङ सम्पत्तिमा उक्त धितो स्वीकार्नुपर्ने बाध्यता थियो।

साथै, राष्ट्र बैंकले गैरबैंकिङ सम्पत्ति बुक गरेपछि १०० प्रतिशत प्रोभिजन गर्नुपर्ने पूर्वको व्यवस्था हटाएको छ। यसले बैंकहरूको नोक्सानी व्यवस्थाको भार घटाउने अपेक्षा गरिएको छ।

त्यस्तै, किस्तावन्दी वा मासिक किस्ता कर्जामा अग्रिम भुक्तानीका कारण किस्तावन्दी रकम वा किस्ताको संख्या कम भएमा, परिवर्तनशील व्याजदर भएका कर्जाको ब्याजदर परिवर्तन हुँदा समयावधि परिवर्तन भएमा वा व्याजदर परिवर्तनले किस्ता रकम परिवर्तन भएमा र ऋणीले लिखित अनुरोध गर्दा आय विश्लेषणपछि वर्षमा बढीमा एकपटक किस्ता रकम परिवर्तन भएमा पुनरसंरचना वा अतिरिक्त नोक्सानी व्यवस्था आवश्यक नपर्ने व्यवस्था गरिएको छ।

साथै, भूलवश कालोसूची सूचीमा समावेश भएकाहरुको सम्बन्धमा कालोसूचीमा समावेश नहुनु पर्ने कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था भूलवश कालोसूची वा डिफल्टर सूचीमा समावेश गरिएको रहेछ भने यस सम्बन्धमा बैंक तथा वित्तीय संस्थाको कार्यकारी प्रमुखले निर्णय गरी अनुरोध गरेमा अविलम्ब त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई अभिलेख नै नरहने गरी कालोसूचीबाट हटाउनु पर्ने सर्कुलरमा भनेको छ ।
 

 
सोमबार, २९ मंसिर २०८२, १३ : ३६

प्रतिक्रिया