काठमाडौं– बैंक तथा वित्तिय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकको क्षेत्राधिकार मिचेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रभु बैंकको वित्तिय अपचलनको मुद्दामा हस्तक्षेप गरेपछि समग्र बैंकिङ क्षेत्र तरंगित बनेको छ ।
प्रभु बैंकको वित्ति अपचलनको आरोपमा दुई साताअघि प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायब कार्यकारी अधिकृत मणिराम पोख्रेल, प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई कार्यकक्षबाट पक्राउ गरेपछि समग्र बैंकिङ क्षेत्रमा सशंकित बनेको हो ।
राष्ट्र बैंकको रायविना नै बैंकका सीईओ लगायतलाई पक्राउ गरेपछि प्रहरीको भूमिकामाथि चौतर्फी प्रश्न उठीरहेको छ । सिआईबीले बैंकमा पुगेर कर्मचारीको कार्यकक्षबाटै पक्राउ गरी अनुसन्धान अघि बढाएपछि राष्ट्र बैंकको क्षेत्राधिकार मिचिएको भन्दै सरोकारवालाहरुले प्रश्न उठाएका हुन् ।
प्रहरीले राष्ट्र बैंकले नियमन र कारबाहीको दायरामा ल्याउनुपर्ने बैंकिङ क्षेत्रलाई प्रहरीले नै हस्तक्षेपकारी ढंगबाट धरपकड गर्ने कार्य गैरन्यायिक भएको सम्बन्धित बैंकिङ क्षेत्रका कर्मचारीहरु बताउँछन् ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)का एक पदाधिकारीले राष्ट्र बैंकको क्षेत्राधिकार विपरीत प्रहरीले कार्यकक्षबाटै गिरफ्तारी गर्ने कार्यले कर्मचारी हतोत्साहित भएको बताउँछन् । सिआईबीले प्रतिशोधपूर्ण तवरले बैंकिङ क्षेत्रमाथि हात हालेको उनको भनाइ छ ।
उनका अनुसार राष्ट्र बैंक निरीह हुँदा प्रहरीले क्षेत्राधिकार मिचेर आफ्नो भूमिका बढाएको हो । यसले बैंकका कर्मचारीसहित ऋणीहरु समेत आतंकित भएका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन वाफिया २०७३ ले बैंकिङ अनियमिततासम्बन्धी विषयमा नियामकको भूमिका नै निर्णायक हुने व्यवस्था गरेको छ। प्रभु बैंक प्रकरणले प्रहरीको अनुसन्धानको आशय र प्रक्रियामाथि प्रश्न उठाएको छ।
प्रतिक्रिया