नोबेल कलेजले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

सोमबार, १४ पुस २०८२, १२ : ४७

काठमाडौं- नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

फाउण्डेशनले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाअनुसार आवश्यक नियमनकारी निकायहरूबाट स्वीकृति प्राप्त भएपछि आईपीओ निष्कासन गर्नेछ भने त्यसका लागि तयारी थालेको हो । 

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। 

आज सम्पन्न सम्झौतामा नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडका तर्फबाट अध्यक्ष नवराज पाण्डे तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् । 

जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको यस कम्पनीले आफ्नो जारी पूँजीको करिब २८.५७ प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक निष्कासन गर्ने जनाएको छ। बाँकी करिब ७१.४३ प्रतिशत सेयर संस्थापक समूहको स्वामित्वमा रहनेछ।

‘फ्रन्टलाइन’ ब्राण्ड नामबाट काठमाडौंको पुरानो बानेश्वरमा सञ्चालनमा रहेको यस अस्पतालको हाल १०० शय्याको क्षमता रहेको छ। अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आइरहेको दाबी कम्पनीको छ। 

थप सेवा विस्तारका लागि निर्माणको चरणमा रहेको २०० शय्या क्षमताको जनरल तथा क्यान्सर अस्पताल सञ्चालन गर्न आवश्यक पूँजी जुटाउन कम्पनी सार्वजनिक निष्कासनमा जान लागेको अध्यक्ष पाण्डेले जानकारी दिए । 

अस्पतालले हाल स्नातक तहका विद्यार्थीलाई लक्षित गर्दै नर्सिङ, फार्मेसीलगायतका शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।

विसं २०६२।०९।१९ मा स्थापना भएको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडको वार्षिक कारोबार ५० करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीले जनाएको छ। साथै, हाल संस्थामा २०० भन्दा बढी कर्मचारी कार्यरत रहेका छन्।

 
सोमबार, १४ पुस २०८२, १२ : ४७

प्रतिक्रिया