नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित

आइतबार, २० पुस २०८२, १२ : ००

काठमाडौं- नेपाल एसबिआई बैंकको ३२ औं वार्षिक साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको छ । 

सभाले बैंकको आव २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८१/८२ वार्षिक आर्थिक विवरण (२०८२ असार मसान्तको वासलात, आव २०८१/८२ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

साधारण सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ लि” को आव २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

सभाले बैंकका सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी चुक्ता पुँजीमा जम्मा ९ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त साधारण सभाले आव २०८२/८३ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।

बैंकले ३२ औं वार्षिक साधारणसभाको अवसर पारी सबै प्रदेशहरूमा ३२ भन्दा बढी सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गरेको छ ।

 
आइतबार, २० पुस २०८२, १२ : ००

प्रतिक्रिया