सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको छ: योगेश भट्टराई

आइतबार, २० पुस २०८२, १६ : ३८

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको बताए ।

प्रेस चौतारी ताप्लेजुङले आज ताप्लेजुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव भट्टराईले यसअघि निर्वाचन हुनेरनहुने र पार्टी सहभागी हुनेरनहुने अन्योल रहेकामा सरकारसँगको छलफलपछि निर्वाचनमा जाने निर्णय गरिएको जानकारी दिए।

निर्वाचन प्रक्रिया सुरु भइसकेको जनाउँदै उनले राजनीतिक दलहरूले समानुपातिक बन्दसूची पनि बुझाइसकेकाले निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए ।
    
गत भदौ २३ र २४ गतेका घटनापछि सुरक्षा निकायको मनोबल घटेको, हजारौँ कैदीबन्दी फरार रहेका र हतियार लुटिएका विषयमा पार्टीले गम्भीर चासो व्यक्त गरेको उपमहासचिव भट्टराईको भनाइ छ । सरकारले यी विषयमा संवेदनशील रहेको प्रतिक्रिया दिएपछि नेकपा एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको उनले बताए । 

यो निर्वाचन विगतका निर्वाचनभन्दा भिन्न हुनुका साथै लोकतन्त्र तथा संविधानको पुनःस्थापनाका लागि निर्णायक हुने उपमहासचिव भट्टराईले धारणा राखे । उनले लोकतन्त्रलाई जोगाउनु अहिलेको प्रमुख चुनौती भएकाले सबै राजनीतिक दलबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए।

अन्तरराष्ट्रिय परिवेशमा हालै मात्र भेनेजुयला, युक्रेन, पूर्वी एसिया, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कामा देखिएको तनावको असर नेपालमा पनि पर्न सक्ने भन्दै उहाँले राष्ट्रिय एकताको आवश्यकता औँल्याए । 

गत भदौ २३ गते सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ताको माग गर्दै भएको नवयुवा आन्दोलनका माग जायज रहेका भन्दै उपमहासचिव भट्टराईले यसमा एमालेको कुनै विपत्ति नरहेको स्पष्ट पारे ।

यसैबीच, ताप्लेजुङको जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । उपमहासचिव भट्टराईले पार्टीले सर्वसम्मत रूपमा एक जना उम्मेदवार चयन गर्ने र जो उम्मेदवार भए पनि एमालेको जीत सुनिश्चित गर्न एकजुट हुनुपर्नेमा जोड दिए ।

शनिबार बसेको एमाले ताप्लेजुङको बैठकले योगेशकुमार भट्टराई, तिलकुमार मेन्याङ्बो, क्षितिज थेबे, टङ्क आङ्बुहाङ र भीमादेवी ओझासहित पाँच जनाको नाम सिफारिस गरेको थियो ।

 
आइतबार, २० पुस २०८२, १६ : ३८

प्रतिक्रिया