पीस इनर्जीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त

सोमबार, २१ पुस २०८२, १६ : २६

काठमाडौं- पीस इनर्जी कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

पीस इनर्जी कम्पनी र माछापुच्छ्रे क्यापिटलबीच संस्थागत परामर्श सेवा तथा निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो। 

सम्झौतापत्रमा माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मल्ल र पीस इनर्जी कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष डा. मदनकुमार उप्रेतीले हस्ताक्षर गरेका हुन्।

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् ३२ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको छ। 

पीस इनर्जी कम्पनीले ताप्लेजुङ जिल्लाको सिरीजङ्घा गाउँपालिकामा निर्माणाधीन माथिल्लो काबेली जलविद्युत आयोजनाको विकास गरिरहेको छ। २५.१ मेगावाट क्षमताको यस आयोजनाको भौतिक प्रगति हालसम्म ६१ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको कम्पनीले जनाएको छ। आयोजना मिति २०८३ कार्तिक १५ गतेसम्म निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। सार्वजनिक लिमिटेड कम्पनीका रूपमा स्थापित माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोषसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ।

 
सोमबार, २१ पुस २०८२, १६ : २६

प्रतिक्रिया