काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडकोे चौबीसौं वार्षिक साधारणसभा बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको नेतृत्वमा सम्पन्न भएको छ। सभा पुस २१ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो।
सभाले गत असार मसान्तसम्मको वासलात तथा गत आर्थिक वर्ष (आव) को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ।
त्यसैगरी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आवको वितरणयोग्य मुनाफा रकमबाट हाल कायम चुक्ता पूँजीको ५.३७ प्रतिशत नगद लाभांश (नगद र बोनसमा लाग्ने कर सहित) र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ। बैंकले अघिल्लो आवमा ७ प्रतिशत लाभांश वितरण गरेको थियो।
बैंकका अनुसार आव ०८०/८१ को तुलनामा आव ०८१/८२ मा बैंकका समग्र वित्तीय सूचकहरूमा सकारात्मक परिवर्तन देखिएको छ। आव ०८०/८१ को अन्त्यमा आधार दर ९.३९ प्रतिशत रहेकोमा आव ०८१/८२ को अन्त्यमा ६.९४ प्रतिशत रहेको छ। साथै पूँजीकोष पर्याप्यता अनुपातमा उल्लेख्य सुधार भई १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ। आव ०८१/८२ को अन्त्यमा बैकको निक्षेप ५६.२२ अर्ब रुपैयाँ रहेको छ भने कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ रहेको छ।
प्रतिक्रिया