बैंकिङ सेवा

बैंकिङ सेवाको स्वरूप फेरिँदै : शाखारहित बैंकिङ सेवा ओझेलमा, डिजिटल बैंकिङ तीव्र गतिमा विस्तार

बुधबार, २३ पुस २०८२, ११ : ३२

काठमाडौं- नेपालमा बैंकिङ सेवाको स्वरूप तीव्र रूपमा रूपान्तरण हुँदै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले परम्परागत शाखारहित बैंकिङ सेवा क्रमशः संकुचित हुँदै गएको र त्यसको स्थान डिजिटल बैंकिङ सेवाले लिँदै गएको देखाएको छ ।

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म देशभर सञ्चालनमा रहेका शाखारहित बैंकिङ सेवा केन्द्रको संख्या घटेर ८ सय मा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा भने देशभर १ हजारभन्दा बढी यस्ता सेवा केन्द्र सञ्चालनमा थिए । राष्ट्र बैंकको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका केन्द्रमध्ये ७९६ वटा वाणिज्य बैंकका, ४ वटा विकास बैंकका छन् भने फाइनान्स कम्पनीका कुनै पनि शाखारहित सेवा केन्द्र छैनन् ।

शाखारहित सेवा केन्द्र घटेसँगै यसका प्रयोगकर्ताको संख्या पनि घटेको देखिएको छ । राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म शाखारहित बैंकिङ सेवा लिने ग्राहकको संख्या २ लाख ७६ हजार ५५५ मा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या २ लाख ९८ हजारभन्दा बढी थियो ।

तर, भौतिक सेवा केन्द्र घट्दै जाँदा पनि डिजिटल बैंकिङ सेवाप्रतिको आकर्षण भने झनै बढ्दो देखिएको छ । मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या हाल २ करोड ८६ लाख नाघेको छ । देशभरका ५४ वित्तीय संस्थामार्फत सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवामा सबैभन्दा बढी प्रयोगकर्ता वाणिज्य बैंकसँग आबद्ध छन् ।

त्यसैगरी, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रूपमा बढेको छ । हाल देशभर २३ लाखभन्दा बढी ग्राहक इन्टरनेट बैंकिङ सेवामा आबद्ध छन्, जुन अघिल्लो वर्षको तुलनामा ठूलो वृद्धि हो ।

राष्ट्र बैंकको तथ्यांकले बैंकिङ सेवा अब शाखा वा सेवा केन्द्रमा सीमित नरही मोबाइल र इन्टरनेटमार्फत घरदैलोमै पुग्ने चरणमा प्रवेश गरिसकेको देखाएको छ । डिजिटल पहुँच विस्तारसँगै बैंकिङ प्रणाली थप सहज, छरितो र प्रविधिमैत्री बन्दै गएको संकेत पनि उक्त तथ्यांकले दिएको छ ।

 
 
 
बुधबार, २३ पुस २०८२, ११ : ३२

प्रतिक्रिया