काठमाडौं- भारतीय दुईपाङ्ग्रे निर्माता बजाज अटोले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतकलाई नयाँ डिजाइनसहित अर्को साता बजारमा ल्याउने तयारी गरेको छ।
कम्पनीले हाल बिक्री हुँदै आएको रेगुलर चेतकभन्दा फरक लुक र केही नयाँ डिजाइन अपडेटसहितको भेरियन्ट जनवरी १४ देखि भारतीय बजारमा सार्वजनिक गर्ने जनाएको छ।
हालै सार्वजनिक मिडिया रिपोर्टहरूअनुसार नयाँ चेतक इलेक्ट्रीकको टेल लाइट डिजाइनमा उल्लेख्य परिवर्तन गरिएको छ। पुरानो स्प्लिट टेल लाइट हटाएर थप आधुनिक र फरक डिजाइन अपनाइएको छ, जसको टेल सेक्सनमा चेतकको ब्रान्ड लोगो पनि समावेश गरिएको छ। टेल लाइटबाहेक स्कुटरको अन्य भागमा पनि साना–ठूला डिजाइन सुधार गरिएको अनुमान गरिएको भए पनि कम्पनीले आधिकारिक रूपमा विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।
बजाज चेतक इलेक्ट्रीक भारतीय बजारमा लगातार लोकप्रिय बन्दै गएको छ। सन् २०२५ मा मात्र बजाजले झण्डै २ लाख ७० हजार युनिट चेतक स्कुटर बिक्री गरेको थियो। हाल इलेक्ट्रीक स्कुटर सेग्मेन्टमा बजाज चेतकको भारतमा करिब २१ प्रतिशत बजार हिस्सा रहेको छ। बजारमा उपलब्ध चेतक स्कुटरमा ३ kWh र ३.५ kWh क्षमताका दुई ब्याट्री प्याक विकल्प छन्।
बजाजले चेतक ३००१, ३५०१, ३५०२ र ३५०३ गरी चार भेरियन्ट बिक्री गर्दै आएको छ। तीमध्ये ३००१ र ३५०३ भेरियन्टमा नेगेटिभ एलसीडी ड्यास, मोबाइल कनेक्टिभिटी जस्ता फिचरहरू समान रूपमा दिइएको छ भने टप भेरियन्टमा टचस्क्रिन TFT डिस्प्ले, एडभान्स कनेक्टिभिटी र अन्य प्रिमियम सुविधाहरू उपलब्ध छन्।
बजाज चेतक इलेक्ट्रीक नेपालमा पनि उपलब्ध छ। नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले हाल चेतकको ३५०१ भेरियन्ट स्कुटरको बिक्री वितरण गरिरहेको छ। नयाँ डिजाइनसहितको चेतक पनि नेपाली बजारमा आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया