काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडको इटहरी शाखामा बैंक कर्मचारीमाथि गालीगलौज तथा अभद्र व्यवहारसहित अराजक गतिविधि भएको घटनाप्रति बैंकले गम्भीर ध्यानाकर्षण जनाएको छ।
बैंकका अनुसार कलुषित मनसायका साथ शाखा कार्यालयमा प्रवेश गरेका एक व्यक्तिले कर्मचारीमाथि दुर्व्यवहार गर्दै बैंक परिसरमा होहल्ला र हुलहुज्जत गरेका थिए। बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने संस्थाभित्र यस प्रकारका गैरकानुनी तथा उच्छृङ्खल गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने बैंकको भनाइ छ।
प्रेस विज्ञप्तिमा बैंकले आगजनी तथा जिउज्यानमा क्षति पुर्याउने उद्देश्यले पेट्रोलजस्ता अति प्रज्वलनशील पदार्थ छर्कने प्रयाससमेत भएको उल्लेख गरेको छ। यस्ता गतिविधिले बैंकमा कार्यरत कर्मचारी मात्र होइन, समग्र बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सिर्जना भएको बैंकको ठहर छ।
बैंकले यस्ता घटनाले काम गर्ने वातावरणमा गम्भीर असर परेको र कर्मचारीहरूले असुरक्षा महसुस गरिरहेको जनाएको छ। साथै, मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिइरहेको बैंकिङ क्षेत्रलाई नकारात्मक असर पार्ने कुनै पनि गतिविधि असह्य हुने स्पष्ट पारेको छ।
घटनामा संलग्न व्यक्तिमाथि सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न तथा बैंक र कर्मचारीहरूको शान्ति–सुरक्षा सुनिश्चित गर्न बैंकले आग्रह गरेको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले कुनै पनि बहानामा कर्मचारीमाथि हुने अभद्र व्यवहार सह्य नहुने स्पष्ट पारेका छन्।
प्रतिक्रिया