अपडेट

माघका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

बुधबार, ३० पुस २०८२, ११ : ३९

काठमाडौं- वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

सार्वजनिक विवरणअनुसार पुसको तुलनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ४.६८ प्रतिशत विन्दुमा झरेको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

माघका लागि ब्याजदर घटाएर कुमारीले ४.२३ प्रतिशत, एभरेष्टले ४.४० प्रतिशत, एसबीआईले ४.४० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ४.३६ प्रतिशत, सिटिजन्सले ४.५० प्रतिशत, लक्ष्मी सनराइजले ४.५० प्रतिशत र सिद्धार्थले ४.५५ प्रतिशत कायम गरेका छन्।

यसैगरी माघमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर राख्ने वाणिज्य बैंकहरुमा नेपाल बैंक, प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनआईसी एसिया, एनएमबि र राष्ट्रिय वाणिज्य बैंक छन्। पुसमा नेपाल बैंकले ५.१० प्रतिशत, प्रभुले ४.५५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ५.० प्रतिशत, एनआईसी एसियाले ५.० प्रतिशत, एनएमबिले ५.० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ५.० ब्याज दिएका थिए। यही ब्याजलाई यी बैंकहरुले माघमा पनि निरन्तरता दिएका छन्।

त्यस्तै प्राइम बैंकले भने माघमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर ४.४० प्रतिशत कायम गरेको छ। पुसमा बैंकले ४.२५ प्रतिशत ब्याज दिएको थियो।

 
बुधबार, ३० पुस २०८२, ११ : ३९

प्रतिक्रिया