काठमाडौं- स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकको फेसलिफ्ट संस्करण २०२६ सार्वजनिक गरेको छ।
नयाँ मोडलमा डिजाइन, क्याबिन र सुविधामा महत्वपूर्ण सुधार गरिएको भए पनि प्लेटफर्म र मेकानिकल संरचनामा कुनै परिवर्तन गरिएको छैन। पुरानो कुशाकमा बटरफ्लाइ ग्रिल र छुट्टाछुट्टै एलईडी टेललाइट थिए भने, नयाँ संस्करणमा अगाडिको भाग पूर्ण रूपमा परिमार्जन गरिएको छ।
क्रोम रिबहरूले सजिएको ठाडो र चौडा फ्रन्ट ग्रिल, सेग्मेन्टेड डीआरएलसहितका नयाँ एलईडी हेडलाइटहरू नयाँ मोडललाई थप शार्प र प्रिमियम बनाउँछन्। पछाडिको भागमा पनि पूर्ण एलईडी टेललाइट प्रयोग गरिएको छ। कुल मिलाएर, नयाँ कुशाक बढी आक्रामक र आकर्षक देखिन्छ, जबकि पुरानो मोडलको डिजाइन आफ्नो समयका लागि सन्तुलित मानिन्थ्यो। क्याबिनको लेआउटमा ठूलो परिवर्तन नभए पनि रङ संयोजन र सामग्रीको गुणस्तरमा सुधार गरिएको छ।
डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो प्यानोरामिक सनरुफ, १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, फ्रन्ट पार्किङ सेन्सर, र रेन सेन्सिङ वाइपरजस्ता सुविधा नयाँ मोडलमा थपिएका छन्। नयाँ कुशाक अब कनेक्टेड कार प्रविधि र थप कम्फर्ट सुविधा समेत प्रदान गर्दछ। सुरक्षाको हिसाबले नयाँ र पुरानो दुवै संस्करण ग्लोबल एनक्याप ५ स्टार सुरक्षित मूल्याङ्कन प्राप्त छन्।
यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता सुविधा मानक रूपमा उपलब्ध छन्। इन्जिन विकल्पमा ठूलो परिवर्तन छैन।
नयाँ मोडलमा पहिलेझैँ १.० लिटर टीएसआई टर्बो पेट्रोल (११५ पीएस) र १.५ लिटर टीएसआई टर्बो पेट्रोल (१५० पीएस) उपलब्ध छन्। तर १.० लिटर भेरिएन्टमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन थपिएको छ भने १.५ लिटरमा पहिलेझैँ डीएसजी गियरबक्स विकल्प कायम राखिएको छ। स्कोडाले फेसलिफ्ट कुशाकमार्फत आफ्नो लोकप्रिय एसयूभीलाई अझ प्रिमियम, सुविधा सम्पन्न र आकर्षक बनाएर बजारमा ल्याएको छ।
प्रतिक्रिया