युनाइटेड मेवाखोला हाइड्रोले बोलायो साधारणसभा, आईपीओ निष्कासन प्रस्ताव पारित गर्ने

शनिबार, १७ माघ २०८२, १३ : ४७

काठमाडौं- युनाइटेड मेवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित दोस्रो र तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको हो।

सभा आगामी फागुन ११ गते काठमाडौंमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो ।

उक्त सभामा सर्वसाधारणका लागि कम्पनीको आईपीओ निष्कासन गर्ने,यससम्बन्धी निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

कम्पनीले १ अर्ब ६१ लाख ७० हजार रुपैयाँ बराबरको रु १०० अंकित दरका १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोष (सीआईटी) लाई नियुक्त गरेको छ ।

कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधीन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात साढे ६७ करोड रुपैयाँ लगानी रहेको छ ।

ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका वडा नम्वर ३, ४ र ५ मा निर्माणाधिन मेवाखोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अुगुवाईमा ऋण लगानी रहेको छ ।

 
शनिबार, १७ माघ २०८२, १३ : ४७

प्रतिक्रिया