अर्थतन्त्र

सात महिनामा राजस्व संकलनले लक्ष्य हासिल गर्न सकेन, अन्तःशुल्क संकलनमा भने दोहोरो अंकको वृद्धि

शुक्रबार, ०१ फागुन २०८२, १० : ४६

काठमाडौं– चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको राजस्व संकलनमा सामान्य सुधार देखिएको छ। अर्थ मन्त्रालयका अनुसार माघ २९ गतेसम्म कुल ६ खर्ब ६४ अर्ब २ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.४५ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको माघ मसान्तसम्म ६ खर्ब ४२ अर्ब ४५ लाख रुपैयाँ राजस्व उठेको थियो। तर यस वर्षको लक्ष्य भने अझै टाढै देखिएको छ। माघ मसान्तसम्म ८ खर्ब १३ अर्ब ६३ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म ८१.६१ प्रतिशत मात्र उपलब्धि हासिल भएको छ।

भन्सारमा वृद्धि, लक्ष्य अधुरै

भन्सार महसुलतर्फ १ खर्ब ७० अर्ब ५० करोड रुपैयाँ उठाउने लक्ष्य राखिए पनि १ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ मात्र संकलन भएको छ, जुन लक्ष्यको ७९.३७ प्रतिशत हो।

भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा ७.५३ प्रतिशत वृद्धि देखिएको छ। पैठारीमा ७.४४ प्रतिशत र निकासीमा २०४।९३ प्रतिशत वृद्धि हुनु सकारात्मक पक्ष मानिएको छ।

भ्याट र अन्तःशुल्कमा उकालो

मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ७.६३ प्रतिशत वृद्धि भएको छ। २ खर्ब १७ अर्ब २१ करोड रुपैयाँको लक्ष्यमा १ खर्ब ९६ अर्ब रुपैयाँ संकलन भएको छ। उत्पादन, बिक्री र सेवातर्फ ७.८० प्रतिशत तथा पैठारीतर्फ ७.४२ प्रतिशत वृद्धि देखिएको छ।

अन्तःशुल्क संकलनमा भने दोहोरो अंकको वृद्धि भएको छ। गत वर्ष ९५ अर्ब ९ करोड रुपैयाँ रहेको संकलन यस वर्ष १ खर्ब ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ, जुन १०.८८ प्रतिशत वृद्धि हो।

आयकर र गैर–कर राजस्वमा गिरावट

आयकर संकलन ०.८१ प्रतिशतले घटेर १ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ मा सीमित भएको छ। लक्ष्य भने २ खर्ब २० अर्ब ७ करोड रुपैयाँ थियो।

गैर-कर राजस्व पनि १५.८१ प्रतिशतले घटेर ६५ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। यस शीर्षकमा ८७ अर्ब १० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको थियो।

विभागीय अवस्था

विभागगत रूपमा भन्सार विभागले २ खर्ब ७८ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ८३.८४ प्रतिशत हो।

त्यस्तै आन्तरिक राजस्व विभागले ३ खर्ब २० अर्ब रुपैयाँ संकलन गर्दै ४.२१ प्रतिशत वृद्धि हासिल गरेको छ, जुन लक्ष्यको ८१.३६ प्रतिशत हो।

राजस्व संकलनमा सुधारको संकेत देखिए पनि लक्ष्यअनुसारको प्रगति अझै सन्तोषजनक छैन। भन्सार, भ्याट र अन्तःशुल्कले सकारात्मक गति लिँदा आयकर र गैर-कर राजस्वमा आएको गिरावटले समग्र राजस्व परिचालनमा चुनौती कायमै रहेको देखाएको छ।

 
 
शुक्रबार, ०१ फागुन २०८२, १० : ४६

प्रतिक्रिया