काठमाडौं- करिब एक दशकअघि नेपाली बजारबाट बाहिरिएको दक्षिण कोरियाली मोटरसाइकल ब्राण्ड ह्योसुङ पुनः नेपाल प्रवेश गरेको छ। यसअघि बतास मोटर्समार्फत बिक्री भएको यो ब्राण्ड अब इभोक नेपाल प्रालिले भित्र्याएको हो।
कम्पनीले २५० सीसी सेग्मेन्टमा भी-ट्विन इन्जिनसहितको नयाँ एड्भेन्चर मोटरसाइकल ल्याएको छ, जुन यो सेग्मेन्टमै पहिलो भी-ट्विन सेटअप भएको दाबी गरिएको छ। मोटरसाइकलको औपचारिक सार्वजनिक कार्यक्रम भने केही समयपछि गरिने जनाइएको छ। यसको मूल्य करिब ७ लाख ५० हजार रुपैयाँ हाराहारी रहने स्रोतको भनाइ छ।
२४८.२ सीसी क्षमताको लिक्विड कुल्ड, एसओएचसी, एफआई भी–ट्विन इन्जिनले ९५०० आरपीएममा २५.५ पीएस पावर र ७००० आरपीएममा २० एनएम टर्क उत्पादन गर्छ। ६ स्पीड गियरबक्ससहितको यो बाइकमा अपसाइड डाउन फोर्क, मोनोसक सस्पेन्सन, डबल च्यानल एबीएस, वायर स्पोक ह्वील, ७ इन्च टीएफटी डिस्प्ले लगायत फिचर छन्।
एड्भेन्चर सेग्मेन्टको बढ्दो मागबीच पुनः प्रवेश गरेको ह्योसुङ ब्राण्ड बजारमा टिक्ने वा नटिक्ने भन्ने कुरा मूल्य, सर्भिस नेटवर्क र स्पेयर पार्ट्स उपलब्धतामा निर्भर रहने देखिन्छ।
प्रतिक्रिया