काठमाडौं — बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ उठाउने निर्णय गरेको छ। केन्द्रीय बैंकले ३५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत मंगलबार उक्त रकम खिच्न लागेको हो।
राष्ट्र बैंकले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत प्रस्ताव पेश गर्न सकिने जनाएको छ। न्यूनतम १० करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन्।
यस निक्षेपको सावाँ र ब्याज भुक्तानी फागुन २५ गते हुनेछ। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ, जसमा बहु–ब्याजदरमा समेत प्रस्ताव गर्न पाइने व्यवस्था छ।
राष्ट्र बैंकका अनुसार यस प्रक्रियामा केन्द्रीय बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्। बोलकबोल गर्दा जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ।
बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिँदै आह्वान गरिएको कुल रकम बराबर वितरण गरिने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।
बजारमा बढ्दो नगद प्रवाह सन्तुलनमा ल्याउन राष्ट्र बैंकले तरलता व्यवस्थापनका उपकरणहरू सक्रिय रूपमा प्रयोग गरिरहेको छ।
प्रतिक्रिया