काठमाडौं - नेपाली बजारमा डबल पर्पस मोटरसाइकलको माग बढ्दै गएको बेला सीएफमोटो २५० डुअल मोटरसाइकल बिहीबार औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ ।
नेपालका लागि सिएफमोटाको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरल ले फागुन २८ गते नयाँ डबल पपर्स २५० डुअल मोडल सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले केही समयदेखि नेपालका विभिन्न सडक तथा अफरोड ट्र्याकमा यो मोटरसाइकलको परीक्षण गर्दै आएको थियो। परीक्षण सफल भएपछि अब यो मोडल नेपाली ग्राहकका लागि बिक्रीमा ल्याउन लागिएको हो।
नयाँ २५० डुअलमा २५० सीसीको लिक्विड–कुल्ड इन्जिन प्रयोग गरिएको छ । जसले २४.४ पीएस पावर र २२.५ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यसमा ६–स्पीड गियरबक्ससहित स्लिपर एण्ड असिस्ट क्लच जडान गरिएको छ।
मात्र १५४ केजी तौल भएको यो मोटरसाइकल अफरोड तथा लामो दूरीको यात्राका लागि उपयुक्त मानिएको छ । अगाडि २१ इन्च र पछाडि १८ इन्चको स्पोक ह्विल, २४५ एमएम ग्राउन्ड क्लियरेन्स र १३ लिटर क्षमताको फ्युल ट्याङ्क जस्ता विशेषताले यसलाई डबल पर्पस बाइकको रूपमा अझ आकर्षक बनाएको छ ।
यस मोटरसाइकलमा एलसीडी डिजिटल कन्सोल, एलईडी लाइट, यूएसबी चार्जिङ पोर्ट, यूएसडी फ्रन्ट फोर्क, मोनोशक रियर सस्पेन्सन, स्विचेबल एबीएस र साइड स्ट्यान्ड सेफ्टी स्विच जस्ता आधुनिक फिचरहरू समावेश गरिएको छ ।
हाल नेपाली बजारमा सीएफ मोटो ४५० एमटी निकै लोकप्रिय मोडल बनेको छ । कम्पनीले सोही लोकप्रियतालाई निरन्तरता दिन नयाँ २५० डुअल सार्वजनिक गर्न लागेको जनाएको छ ।
प्रतिक्रिया