काठमाडौं- नेपालको विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा बढ्दै ३३ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ।
नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्मको विवरणअनुसार देशसँग ३३ खर्ब २ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो। सात महिनाको अवधिमा विदेशी मुद्रा सञ्चिति २३.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
अमेरिकी डलरमा हेर्दा असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति माघ मसान्तसम्म आइपुग्दा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड डलर पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग रहेको हिस्सा असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ थियो। माघ मसान्तसम्म यो २१.२ प्रतिशतले बढेर २९ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति पनि उल्लेख्य रूपमा बढेको छ। असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति माघ मसान्तसम्म ४२.८ प्रतिशतले बढेर ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।
माघ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमध्ये भारतीय मुद्राको हिस्सा २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
चालु आर्थिक वर्षको पहिलो सात महिनासम्मको आयातलाई आधार मान्दा हालको विदेशी मुद्रा सञ्चिति २१.३ महिनासम्मको वस्तु आयात तथा करिब १८ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको निष्कर्ष छ।
आजको अर्थ संवाददाता
प्रतिक्रिया