काठमाडौं । वाणिज्य बैंकहरूले चैत महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक दरअनुसार व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर फागुनको तुलनामा केही घटेको देखिएको छ।
फागुन महिनामा ४.५६ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा घटेर ४.४९ प्रतिशतमा झरेको छ। यससँगै औसत दर ०.०७ प्रतिशतविन्दुले घटेको हो।
नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएपछि समग्र औसत दर घट्न पुगेको हो। बाँकी १४ बैंकले भने फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन्।
संस्थागत मुद्दति निक्षेपतर्फ पनि अधिकतम औसत ब्याजदर ०.०३ प्रतिशतविन्दुले घटाइएको छ।
चैतका लागि सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक नेपाल बैंक रहेको छ। उक्त बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशतविन्दुले घटाएको हो। त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि चैत महिनाका लागि ब्याजदर घटाएका छन्।
नयाँ दरअनुसार नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ, जुन फागुनमा ५.१ प्रतिशत थियो। स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.११ प्रतिशत र कुमारी बैंकले ४.१२ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दतिमा ४.१५ प्रतिशत ब्याजदर तोकेका छन् भने ग्लोबल आइएमई बैंकले ४.२५ प्रतिशत निर्धारण गरेको छ।
त्यसैगरी नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंकले ४.२५ प्रतिशत ब्याजदरलाई यथावत् राखेका छन्।
माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत महिनाका लागि ४.५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
प्रभु बैंक र नबिल बैंकले व्यक्तिगत मुद्दतिमा ४.५५ प्रतिशत ब्याजदर तोकेका छन् भने हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबी बैंकले ५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।
आजको अर्थ संवाददाता
प्रतिक्रिया