काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामै नेपालको वैदेशिक व्यापार घाटा झण्डै ११ खर्ब रुपैयाँ पुगेको छ। भन्सार विभाग ले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार सो अवधिमा मुलुकले कुल १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँभन्दा बढी व्यापार घाटा बेहोरेको हो।
विभागका अनुसार आठ महिनामा कुल १४ खर्ब ४० अर्ब ३६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यसमध्ये १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १२.५४ प्रतिशतले बढेको छ भने निर्यातमा अझ तीव्र वृद्धि देखिँदै २९.८३ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।
भारतसँग सबैभन्दा ठूलो घाटा
छिमेकी मुलुकहरूसँगको व्यापारमा पनि नेपालको घाटा उच्च नै रहेको छ। भारतसँग मात्रै ५ खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँको व्यापार घाटा देखिएको छ। सो अवधिमा भारत बाट ७ खर्ब २४ अर्ब ६ करोड रुपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।
त्यस्तै चीन सँग पनि व्यापार असन्तुलन उच्च छ। चीनबाट २ खर्ब ७५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको आयात हुँदा नेपालबाट जम्मा ९८ करोड ३३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ, जसले २ खर्ब ६४ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी घाटा देखाएको छ।
नेपालले व्यापार घाटा बढी बेहोरेका अन्य मुलुकमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि अग्रस्थानमा छन्।
केही मुलुकसँग भने नाफा
यद्यपि केही मुलुकसँग नेपालको व्यापार नाफामा पनि रहेको छ। रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक र केन्या सँग नेपालको व्यापार नाफामा रहेको देखिएको छ।
फागुनसम्म रोमानियासँग ५० करोड ६५ लाख रुपैयाँ, नर्वेसँग ३ करोड ३३ लाख रुपैयाँ र आइसल्याण्डसँग २ करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार नाफा भएको छ।
पेट्रोलियम पदार्थ आयातमा सबैभन्दा ठूलो हिस्सा
आयाततर्फ पेट्रोलियम पदार्थले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। आठ महिनामा ८२ अर्ब १० करोड रुपैयाँभन्दा बढीको डिजेल, ४३ अर्ब ८९ करोड रुपैयाँको पेट्रोल तथा ३७ अर्ब ३१ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ।
त्यस्तै ८१ अर्ब १८ करोड रुपैयाँको कच्चा भटमास तेल, २९ अर्ब ९३ करोड रुपैयाँको स्मार्टफोन, ३६ अर्ब ८२ करोड रुपैयाँको फलामजन्य सामग्री, २३ अर्ब ४९ करोड रुपैयाँको सुन र १८ अर्ब ४४ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको छ।
निर्यातमा भटमास तेल अग्रस्थानमा
निर्याततर्फ भटमास तेल सबैभन्दा ठूलो वस्तु बनेको छ। पछिल्लो आठ महिनामा मात्रै ७५ अर्ब ७७ करोड रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको विभागको तथ्यांक छ।
यसपछि ९ अर्ब ४९ करोड रुपैयाँको अलैंची, ६ अर्ब ५३ करोड रुपैयाँको कार्पेट, ६ अर्ब २० करोड रुपैयाँको सूर्यमुखी तेल तथा ४ अर्ब ३२ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात भएको छ।
वैदेशिक व्यापारमा आयात उच्च रहँदा व्यापार घाटा अझै गहिरो देखिएको छ, जसले अर्थतन्त्रमा संरचनागत सुधारको आवश्यकता औंल्याइरहेको छ।
प्रतिक्रिया