नेपाल बैंकद्वारा 'ग्लोबल मनी वीक २०२६' भव्य रूपमा सम्पन्न, सातै प्रदेशमा वित्तीय साक्षरता अभियान

बुधबार, १८ चैत्र २०८२, १३ : ३७

काठमाडौँ - नेपाल बैंक लिमिटेडले 'स्मार्ट मनी टक्स' (Smart Money Talks) भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको 'ग्लोबल मनी वीक २०२६' सफलतापूर्वक सम्पन्न गरेको छ। चैत्र २ गतेदेखि ८ गतेसम्म चलेको यो सप्ताहव्यापी अभियानमा बैंकका सातै प्रदेशमा रहेका शाखाहरूले उत्साहजनक सहभागिता जनाउँदै युवा पुस्तामा वित्तीय साक्षरता र आर्थिक सशक्तीकरणको सन्देश प्रवाह गरेका छन्।

संसारभरका युवाहरूलाई आर्थिक रूपमा सचेत बनाउने उद्देश्यले आयोजित यस कार्यक्रम अन्तर्गत बैंकले विद्यार्थी, युवा तथा सर्वसाधारण नागरिकहरूलाई लक्षित गरी विभिन्न चेतनामूलक गतिविधिहरू सञ्चालन गरेको थियो। यस अवधिमा बचत, लगानी, डिजिटल बैंकिङ, ऋण व्यवस्थापन र वित्तीय योजनाका बारेमा सहभागीहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिएको बैंकले जनाएको छ।

ग्लोबल मनी वीकका मुख्य गतिविधिहरूमा स्थानीय विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता अभिमुखीकरण कक्षाहरू सञ्चालन गरिनुका साथै बैंकिङ सेवाका बारेमा जनचेतना फैलाइएको थियो। साथै, डिजिटल भुक्तानी प्रणालीको प्रयोगात्मक प्रशिक्षण, बचत खाता खोल्ने विशेष अभियान र महिला तथा युवा उद्यमीहरूका लागि उद्यमशीलता सम्बन्धी कार्यक्रमहरू समेत आयोजना गरिएको थियो। अभियानलाई थप प्रभावकारी बनाउन प्रभातफेरी, हाजिरी जवाफ प्रतियोगिता र विशेषज्ञ समूहहरूबीच प्यानल छलफल (Panel Discussion) जस्ता कार्यक्रमहरू पनि सम्पन्न भएका छन्।

नेपाल बैंक लिमिटेडले आगामी दिनमा पनि यस्ता वित्तीय साक्षरताका अभियानहरूलाई निरन्तरता दिँदै आम नागरिकहरूमा वित्तीय सचेतना फैलाउन प्रतिबद्ध रहेको जानकारी दिएको छ। बैंककी प्रमुख सूचना अधिकारी प्रतिभा डंगोलका अनुसार यस्ता कार्यक्रमले वित्तीय पहुँच बढाउन र सुरक्षित बैंकिङ कारोबारलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्।

 
 
बुधबार, १८ चैत्र २०८२, १३ : ३७

प्रतिक्रिया