काठमाडौं- नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी (3G) सेवालाई क्रमिक रूपमा बन्द गर्दै फोरजी (4G) सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। प्रविधिमा आएको परिवर्तन र उच्च गतिको इन्टरनेट सेवा सुनिश्चित गर्न टेलिकमले थ्रीजी प्रयोगकर्ताहरूलाई फोरजीमा आवद्ध हुन आग्रह गर्दै यस सम्बन्धी कार्यलाई तीव्र बनाएको हो।
अझै पनि थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकहरूलाई टेलिकमले भ्वाइस कल र एसएमएस (SMS) मार्फत सिम परिवर्तन गर्न जानकारी गराइरहेको छ। सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो थ्रीजी सिमलाई कुनै पनि अतिरिक्त शुल्क नतिरी निःशुल्क रूपमा फोरजी सिममा रूपान्तरण गर्न सक्नेछन्। यसका लागि ग्राहकले आफ्नो पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ।
नयाँ फोरजी सिम लिनका लागि ग्राहकले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजातहरू जस्तै नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र मध्ये कुनै एक पेश गर्नुपर्नेछ। थ्रीजीको तुलनामा फोरजी प्रविधिमा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तर निकै उत्कृष्ट हुने भएकाले यसबाट ग्राहकहरूले थप लाभ लिन सक्ने कम्पनीको विश्वास छ।
आफ्नो मोबाइलमा रहेको सिम फोरजी प्रविधिको हो वा होइन भन्ने थाहा पाउनका लागि ग्राहकले *४४४# डायल गर्न सक्नेछन्। यसै कोडको प्रयोग गरी फोरजी सेवा सक्रिय गर्नुका साथै उच्च गुणस्तरको भोल्ट (VoLTE) सेवा समेत सहजै सुरु गर्न सकिने टेलिकमले जानकारी दिएको छ।
प्रतिक्रिया