काठमाडौं - साझा यातायातसँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले आगामी २०८३ साल वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउने भएको छ। राति सार्वजनिक सवारीको अभावका कारण यात्रुहरूले भोग्दै आएको समस्या समाधान गर्ने उद्देश्यसहित यो सेवा शुरु गर्न लागिएको महानगरपालिकाले जनाएको छ।
पहिलो चरणमा ४ वटा विद्युतीय बस दुई फरक रुटमा सञ्चालन गरिनेछन्। पहिलो रुट ललितपुरको लगनखेलदेखि बुढानीलकण्ठसम्म हुनेछ। यो रुट पाटन अस्पताल, अल्का, नर्भिक अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै सञ्चालन हुनेछ। यो उत्तर–दक्षिण दिशाको १६ किलोमिटर एकतर्फी दूरी रहेको रुट हो।
त्यसैगरी दोस्रो रुट थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म रहनेछ। यो बस सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै विमानस्थल पुग्नेछ। यो पूर्व–पश्चिम दिशाको २० किलोमिटर एकतर्फी दूरी भएको रुट हो। महानगरपालिकाले सेवा शुरु गर्दा साँझ ८ बजेदेखि राति ११ बजेसम्म बस सञ्चालन गरिने जनाएको छ। तोकिएका बस स्टपमा हरेक २० मिनेटमा बस उपलब्ध हुनेछ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बेलुका ८ बजेपछि सार्वजनिक यातायात नचल्दा यात्रुहरू महँगो सवारी प्रयोग गर्न बाध्य हुने अवस्था रहेको बताएकी छन्। उनका अनुसार रातिको समयमा सुरक्षित र सुलभ सार्वजनिक यातायात नहुँदा विशेषगरी महिला, किशोरी, विद्यार्थी र दैनिक कामकाजी यात्रुहरू बढी प्रभावित हुँदै आएका छन्। कार्यवाहक प्रमुख डंगोलले सार्वजनिक यातायातमा पहुँचको अभावले यात्रुहरू आर्थिक तथा सामाजिक रूपमा समस्या भोगिरहेको उल्लेख गर्दै यो सेवा त्यसको व्यावहारिक समाधानका रूपमा ल्याउन लागिएको बताएकी छन्। साथै यस्तो सेवाले शहरी यात्रालाई सहज, सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
प्रतिक्रिया