काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही सञ्चार माध्यममा प्रकाशित आफूसँग सम्बन्धित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको खण्डन गरेको छ।
हिमालयन रिइन्स्योरेन्सका आधारभूत शेयरधनी दीपक भट्टले नेपाल लाइफको सहायक कम्पनीमार्फत ३७ करोड रुपैयाँ दुरुपयोग गरी धितोपत्र दलाल नं. ५५ (भृकुटी स्टक ब्रोकर) बाट शेयर खरिद गरेको भन्ने समाचार पूर्णतः गलत र भ्रामक रहेको कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै उल्लेखित व्यक्ति दीपक भट्ट वा धितोपत्र दलाल कम्पनीसँग यस विषयमा आफ्नो कुनै पनि संलग्नता नरहेको र कुनै पनि किसिमको कारोबार समेत नभएको जानकारी गराएको छ। केही दिनअघि दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स लगायतका शेयर खरिद गर्दा भुक्तानी गरेको भनी आएका समाचारहरूमा कुनै सत्यता नभएको कम्पनीको दाबी छ।
नेपाल लाइफले आफू सधैँ प्रचलित कानुन, नियामक निकायका मापदण्ड र संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गरिरहेको बताएको छ। आफ्ना सम्पूर्ण सरोकारवालाहरूलाई यस्ता आधारहीन समाचारको भ्रममा नपर्न आग्रह गर्दै कम्पनीले आफ्नो पारदर्शिता र व्यावसायिक मर्यादामा आँच आउने कार्य नगरेको प्रस्ट पारेको छ। विधिको शासन र संस्थागत सुशासनमा आफ्नो अटल विश्वास रहेको भन्दै कम्पनीले सञ्चार माध्यमहरूलाई सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न समेत अनुरोध गरेको छ।
प्रतिक्रिया