काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ। यस प्रतिवेदनका अनुसार देशको अर्थतन्त्रका विभिन्न सूचकहरूमा सुधार देखिएको छ।
विशेष गरी बाह्य क्षेत्र निकै मजबुत देखिएको छ भने महँगी नियन्त्रणमै रहेको छ। फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ३.७५ प्रतिशत रहेको थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।
देशको बाह्य क्षेत्रतर्फ रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४४९ अर्ब ६५ करोड पुगेको छ। अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह ३१ प्रतिशतले बढेर १० अर्ब १५ करोड पुगेको छ। यसैगरी खुद सेवा आय ३७ अर्ब ६९ करोडले घाटामा रहे पनि चालू खाता ५५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ। शोधनान्तर स्थिति पनि ६५८ अर्ब ३५ करोडले बचतमा रहेको छ, जसले गर्दा देशको विदेशी विनिमय सञ्चितिमा थप बल पुगेको छ। कुल विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भई ३४१३ अर्ब ७७ करोड पुगेको छ। यो सञ्चितिले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ।
व्यापारतर्फ आठ महिनाको अवधिमा कुल वस्तु निर्यात २०.८ प्रतिशतले वृद्धि भई १९१ अर्ब ११ करोड पुगेको छ भने वस्तु आयात १२.५ प्रतिशतले बढेर १२८९ अर्ब २५ करोड पुगेको छ। यस अवधिमा कुल वस्तु व्यापार घाटा ११.२ प्रतिशतले बढेर १०९८ अर्ब १४ करोड पुगेको छ। निर्यात-आयात अनुपात १४.८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष १३.८ प्रतिशत रहेको थियो। भारततर्फको निर्यात र आयात दुवैमा वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा कमी आएको तर आयातमा उल्लेख्य वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। सरकारी वित्त स्थितिको कुरा गर्दा, नेपाल सरकारको कुल खर्च ९२६ अर्ब ५९ करोड भएको छ भने कुल राजस्व परिचालन ७४७ अर्ब २८ करोड रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा चालू खर्च ६४२ अर्ब १५ करोड र पुँजीगत खर्च ७८ अर्ब ४९ करोड भएको छ। मौद्रिक क्षेत्रतर्फ विस्तृत मुद्राप्रदाय ६.७ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ६.६ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा प्रवाह ४.४ प्रतिशतले वृद्धि भएको छ। निक्षेप र कर्जाको ब्याजदरमा पनि कमी आएको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.९० प्रतिशतमा झरेको छ। पूँजी बजारमा पनि सुधारका संकेत देखिएका छन्। २०८२ फागुन मसान्तमा नेप्से सूचकाङ्क २८२०.४५ बिन्दु पुगेको छ, जुन २०८१ फागुन मसान्तमा २७३६.४९ बिन्दु रहेको थियो। बजार पूँजीकरण ४७४४ अर्ब ७३ करोड पुगेको छ।
नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २८६ पुगेको छ। यसरी समग्रमा हेर्दा देशको आर्थिक अवस्थाका बाह्य सूचकहरू निकै उत्साहजनक रहेका छन् भने आन्तरिक उत्पादन र राजस्व संकलनमा सुधारका प्रयासहरू जारी रहेका देखिन्छन्।
प्रतिक्रिया