काठमाडौं- नेपाली अटो बजारमा मध्यम मूल्यका विद्युतीय गाडी (ईभी) सेग्मेन्ट झन् तातिने भएको छ। ३५ देखि ५० लाख रुपैयाँ मूल्य दायरालाई लक्षित गर्दै तीन नयाँ एसयूभी मोडल नेपाल भित्रिन लागेका हुन्।
पछिल्ला वर्षहरूमा यही मूल्य समूहका ईभी गाडीप्रति उपभोक्ताको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। त्यही ट्रेन्डलाई समात्दै टाटा, आरफक्स र दीपल ब्राण्डले आफ्ना नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेका छन्।
नेपाली बजारमा पहिलोपटक प्रवेश गर्न लागेको आरफक्स ब्राण्डलाई लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनीले भित्र्याउँदैछ। आरफक्सको टी–०१ ह्याचब्याक मोडलबाट ब्राण्डले सुरुवात गर्नेछ, जसले किफायती सेग्मेन्टमा प्रतिस्पर्धा थप चर्काउने अपेक्षा गरिएको छ।
यता, नेपाली सडकमा पहिल्यै लोकप्रिय बनिसकेको टाटा पञ्च इभी को लङ रेन्ज संस्करण पनि चाँडै सार्वजनिक हुने भएको छ। सिप्रदी ट्रेडिङले बिक्री गर्ने यो मोडल फेसलिफ्ट डिजाइनसहित आउनेछ, जसले थप रेन्ज र अपडेटेड फिचर दिने अनुमान गरिएको छ।
त्यसैगरी, दीपलले आफ्नो इन्ट्री–लेभल एसयूभीका रूपमा एस–०३ मोडल नेपाल ल्याउँदैछ। थाइल्याण्डमा उत्पादन हुने यो गाडी एमएडब्लू वृद्धिले नेपाली बजारमा उपलब्ध गराउनेछ।
यी तीन नयाँ मोडलको आगमनसँगै नेपाली बजारमा मध्यम मूल्यका ईभी गाडीबीच प्रतिस्पर्धा थप तीव्र हुने देखिएको छ। उपभोक्ताले पनि एउटै मूल्य दायरामा अझ बढी विकल्प पाउने भएका छन्।
प्रतिक्रिया