साउनदेखि २४ घण्टामै सवारी लाइसेन्स पाइने

बुधबार, २५ चैत्र २०८२, १२ : ४४

काठमाडौं- सरकारले साउन महिनादेखि ट्रायल पास गरेको २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय का अनुसार हाल झण्डै ३० लाख लाइसेन्स छपाई हुन बाँकी रहेकाले सुरुमा ती सबै लाइसेन्स छापेर वितरण गरिनेछ। त्यसपछि नयाँ लाइसेन्स २४ घण्टाभित्रै वितरण गर्ने प्रणाली कार्यान्वयनमा ल्याइनेछ।

सरकारले असार महिनाभित्र हालसम्म छाप्न बाँकी रहेका सबै लाइसेन्स छपाइ सम्पन्न गर्ने लक्ष्य लिएको छ। पछिल्लो समय लाइसेन्स छपाई कार्यमा तीव्रता आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल दैनिक करिब ४० हजार लाइसेन्स छपाई भइरहेको छ, जुन अघिल्लो समयमा दैनिक १५ सयदेखि २ हजारको हाराहारीमा मात्र हुने गरेको थियो।

लाइसेन्स छपाइको जिम्मा सुरक्षण मुद्रण केन्द्र लाई दिइएको छ। केन्द्रसँग १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएकोमा हालसम्म करिब ३ लाख लाइसेन्स छापेर सम्बन्धित निकायलाई पठाइसकिएको छ। बाँकी लाइसेन्सका लागि आवश्यक विवरण पठाउने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ।

 
 
बुधबार, २५ चैत्र २०८२, १२ : ४४

प्रतिक्रिया