काठमाडौं- पेट्रोलियम पदार्थको अभाव र व्याप्त मूल्य वृद्धिलाई कारण देखाउँदै सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णयलाई कार्यान्वयनमा ल्याउँन नपाउँदै एक स्थानीय सरकारले भने त्यसको अवज्ञा गरेको छ ।
नेपाल सरकारले कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गर्दै हप्ताको दुई दिन शनिवार र आइतबार सार्वजनिक बिदा दिने भनेता पनि ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको छ ।
गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का अनुसार गाउँपालिकामा शनिबार मात्र सार्वजनिक बिदा हुने छ भने आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा कार्यालय सञ्चालन हुने छ ।
सरकारी कार्यालयहरू प्रायः बिदाका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको भन्दै त्यसलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष पोमूले बताए । उनका अनुसार कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म यथावत रहने छ ।
त्यसैगरी, अत्यावश्यक कामका लागि बिदाको दिनमा समेत कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएमा कर्मचारीलाई अतिरिक्त प्रोत्साहन (इन्सेन्टिभ) उपलब्ध गराएर सेवा निरन्तरता दिइने व्यवस्था गरिएको छ । यसले सेवाग्राहीलाई सहज रूपमा सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया