काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिविरुद्ध भइरहेको विद्यार्थी आन्दोलनप्रति आफ्नो पार्टीको पूर्णसमर्थन रहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लवले आइतबार सामाजिक सञ्जालमार्फत आन्दोलनलाई थप सशक्त बनाउँदै अघि बढ्न विद्यार्थी संगठनहरूलाई आह्वान गरेका हुन्।
उनले सरकारको उक्त नीतिलाई निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति भएको टिप्पणी गर्दै विद्यार्थी संगठनहरूलाई सचेतना, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका वाहकको रूपमा व्याख्या गरेका छन् । साथै नेपालमा भएका राजनीतिक परिवर्तनहरूमा विद्यार्थीहरूको अग्रणी भूमिका रहँदै आएको उनले उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरुद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति हाम्रो पूर्ण समर्थन छ। आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ ।सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो । विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका वाहक हुन । नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ। जुन संस्था र शक्तिको योगदानले यी परिवर्तन भएका छन् र सरकार खडा भएका छन् तिनकै घाटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ।’
प्रतिक्रिया