काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह सतहमा आएको छ। महामन्त्री धवलशमशेर राणा नेतृत्वको संस्थापनइतर समूहले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै एक साताभित्र नयाँ महाधिवेशनको मिति घोषणा गर्न 'अल्टिमेटम' दिएको छ।
गत फागुन २१ मा सम्पन्न निर्वाचनको नतिजा उत्साहजनक नआएको र नेतृत्वले त्यसको नैतिक जिम्मेवारी नलिएको भन्दै राणा समूहले नेतृत्व परिवर्तनको एजेन्डा अघि सारेको हो। अध्यक्ष लिङ्देनलाई बुझाइएको ध्यानाकर्षण पत्रमा पार्टीलाई पुनर्जीवन दिन नयाँ नेतृत्व चयनको विकल्प नरहेको उल्लेख छ।
चुनावी नतिजा र नेतृत्वमाथि प्रश्न निर्वाचनअघि अध्यक्ष लिङ्देनले 'राप्रपालाई देशको पहिलो शक्ति बनाउनेु दाबी गरे पनि नतिजा अकल्पनीय र नकारात्मक आएको इतर पक्षको ठहर छ।' 'शर्मनाक नतिजा हात लागेको डेढ महिना पुग्न लाग्दा पनि नेतृत्वले हारको समीक्षा गर्ने वा नैतिक जिम्मेवारी लिने तत्परता देखाएको छैन,' विज्ञप्तिमा भनिएको छ।
पार्टीलाई थप क्षति हुनबाट जोगाउन भन्दै महामन्त्री राणासहितका नेताहरूले हस्ताक्षर गरेको उक्त पत्रमा तीन बुँदे माग अघि सारिएका छन्। एक साताभित्र महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरिए पार्टीभित्र थप संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिइएको छ। एकता महाधिवेशनपछि लय समातेको देखिएको राप्रपामा पछिल्लो विकसित घटनाक्रमले नयाँ ध्रुवीकरणको संकेत गरेको छ।

प्रतिक्रिया