नयाँ ब्याजदर

वैशाख महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?

सोमबार, ३० चैत्र २०८२, १३ : ४६

काठमाडौं– वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेका नयाँ ब्याजदरहरूले निक्षेपमा हल्का गिरावटको संकेत दिएका छन्। चैतको तुलनामा वैशाखमा व्यक्तिगत र संस्थागत दुवै निक्षेपको औसत ब्याजदर घटेको देखिएको हो।

तथ्यांकअनुसार, चैतमा ४.४९ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको औसत ब्याजदर वैशाखमा झरेर ४.४० प्रतिशतमा पुगेको छ। संस्थागत निक्षेपतर्फ पनि ३.२९ प्रतिशतबाट घटेर ३.२३ प्रतिशतमा सीमित भएको छ।

बैंकगत अवस्थालाई हेर्दा केही बैंकहरूले ब्याजदर घटाएका छन् भने केहीले यथास्थितिमा कायम राखेका छन्। सिटिजन्स बैंक इन्टरनेशनल र एभरेस्ट बैंकले व्यक्तिगत निक्षेपमा क्रमशः ०.३५ र ०.२० प्रतिशतले कमी गरेका छन्। हिमालयन बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशतले ब्याजदर घटाएको छ।

नबिल बैंकमा संस्थागत निक्षेपदर ०.५४ प्रतिशतले घट्दा एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा ०.२५ प्रतिशतले कटौती गरेका छन्। सिद्धार्थ बैंकले भने दुवै खालका निक्षेपदरमा समान ०.२५ प्रतिशतले गिरावट ल्याएको छ।

यसबीच, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, एनएमबि बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र सानिमा बैंकले भने आफ्नो ब्याजदर यथावत् राखेका छन्।

बैंकिङ प्रणालीमा तरलता सहज रहिरहेकाले निक्षेपमा प्रतिस्पर्धा घट्दै जाँदा ब्याजदरमा दबाब परेको देखिन्छ।

 
सोमबार, ३० चैत्र २०८२, १३ : ४६

प्रतिक्रिया